१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्लाहीका १६ क्रसर उद्योग बन्द


0
Shares

सर्लाही, असोज १३ । सर्लाहीमा गैरकानुनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदन्डअनुसार ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदन्ड–२०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एंव प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो-‘जिल्ला प्रशासन कार्यालयबाट मापदन्ड पुगेको प्रमाणित भएपछि स्थलगत अनुगमन गरी सञ्चालन गर्न दिने तर अहिले अनिश्चितकालका लागि जिल्लाका हाल सञ्चालनमा रहेका आठओटा र बन्द अवस्थामा रहेका तर सञ्चालनको तयारी गरिरहेका आठओटा गरी १६ ओटैलाई बन्द गरेका छौं ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ अनुसार बस्ती, मुख्य सडकमार्ग, विद्यालय, स्वास्थ्य संस्था क्षेत्र, ठूला नदी, पुल, धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको ५०० मिटरदेखि दुई किलोमिटरभित्र नदीजन्य पदार्थ उत्खनन र संकलन गर्ने/गराउने कुनैपनि कार्य गर्न नपाइने उल्लेख रहेको छ ।

मापदन्डविपरीत तथा नवीकरण नभएका जिल्लामा सञ्चालनमा रहेको १६ ओटा क्रसर उद्योगका सञ्चालकलाई सोमबारदेखि बन्द गर्न कडा निर्देशन दिइएको प्रहरी प्रमुख राठौरले बताउनुभयो ।

क्रसर उद्योगमाथि विशेष निगरानी बढाइएको र क्रसर उद्योगको अनुगमन गर्दा मापदन्डविपरीत खोला, वनजंगल, बस्ती र विद्यालयनजिकसमेत सञ्चालनमा रहेको तथा ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्नका लागि यो कडा कदम चालिएको जिल्ला समन्वय समिति सर्लाहीका सभापति अनुगमन मेथुर चौधरीले बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद् व्यवस्थापन शाखा)ले जारी गरेको ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदन्डविपरीत सर्लाहीमा सञ्चालन हुँदै आएका क्रसर उद्योगको कागजात मगाएर वैधानिकताबारे बुझ्ने तथा अनुगमन गरी गैरकानुनी नठहरिएमा सञ्चालन हुन दिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।

जिल्लाको वाग्मती, लालबन्दी, ईश्वरपुर, हरिपुरलगायतका स्थानमा वडाध्यक्षदेखि लिएर नगरप्रमुख, पूर्वमन्त्री, जिल्लाका टाठाबाठाले मनोमानीरुपमा क्रसर सञ्चालन गरिरहेका छन् भने कतिपय स्थानीय निकायले संघीय सरकारको मापदन्डविपरीत जिल्लामा बन्द रहेका क्रसर उद्योगहरुलाई लोभ-लालचमा परेर सञ्चालनको अनुमतिसमेत दिने तयारी गरेको पाइएको छ ।

जिल्लामा १६ ओटा क्रसर उद्योग दर्ता भएको भएपनि हाल आठओटामात्र सञ्चालनमा छन् । बाँकी आठओटा बन्द अवस्थामा रहेको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख जीतेन्द्रकिशोर गुप्ताले बताउनुभयो ।

यसरी मापदन्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगले जथाभावी नदीबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्दा चुरेको अस्तित्व संकटमा पर्नुको साथै रातारात चुरे विनाश भइरहेको छ ।