१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं उपत्यकामा एकैदिन ९३४ संक्रमित थपिए, देशभर सक्रिय संक्रमितको संख्या २०,३९६


0
Shares

काठमाडौं, असोज १३ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको हो ।

काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै बढी ९३४ जना संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा ७४७, ललितपुरमा ११४ तथा भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, मोरङमा १०१, रुपन्देहीमा ९५ तथा चितवनमा ६२ जना थपिएका छन् ।

दिनानुदिन संक्रमित थपिँदै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार पुगे स्वतः ‘लकडाउन’ गरिने अवस्था आउने यसअघि नै जनाइसकेको छ ।

नेपालमा अहिलेसम्म कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको मंगलबार मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

थप ७३१ जना कोरोनामुक्त
पछिल्लो २४ घन्टामा ७३१ जनामात्र कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । कोरोनामुक्त हुनेको प्रतिशत घटेर ७२.६ मा पुगेको छ ।

थप १० जनाको मृत्यु
पछिल्लो २४ घन्टामा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ देखि ७६ वर्ष उमेरका तीन महिला तथा सात पुरुष हुन् ।

काठमाडौं र बाँकेका समान तीन/तीन तथा मोरङ, सर्लाही, महोत्तरी र चितवनका एक/एकजनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

२१३ जना आईसीयूमा
हाल होम आइसोलेसनमा १० हजार ७०७ तथा संस्थागत आइसोलेसनमा नौ हजार ६८९ जना रहेका छन् । तीमध्ये २१३ ‘आईसीयू’मा र ३४ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घन्टामा १० हजार ८९१ जनाकोमात्र ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्नोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.13 #COVID-19

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.13

Posted by Ministry of Health and Population-Nepal on Tuesday, 29 September 2020