
काठमाडौं, असोज १३ । नेपाली कांग्रेस अहिले आन्तरिक विवादको चंगुलमा फसेको छ ।
सभापति शेरबहादुर देउवाले विधानविपरीत गरेका निर्णयहरु हप्ता दिनभित्र फिर्ता लिन ‘अल्टिमेटम’ दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोधपत्र बुझाएपछि पार्टीमा किचलो थप बढेको हो ।
विरोधपत्रमा निर्णयहरु खारेज नभए संघर्ष गर्ने चेतावनी दिइएपनि सभापति शेरबहादुर देउवा पक्ष भने चेतावनीबाट नडराउने र विगतमा जस्तै पेलेरै जाने मनस्थितिमा देखिन्छ ।
२७ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेर विधानविपरीत गरेका निर्णय फिर्ता लिन अल्टिमेटम दिएपनि सभापति देउवा इतर समूहलाई पेलेर जाने पक्षमा देखिनुहुन्छ ।
असन्तुष्ट समूहले असोज १९ गते तय भएको कार्यसमिति बैठकअगावै विधानविपरीत भएका सम्पूर्ण निर्णयहरु फिर्ता लिन भन्दै विरोधपत्र बुझाएपनि देउवाले यसलाई फगत महाधिवेशन फन्डाको रुपमा लिनुभएको उहाँनिकट नेताहरुको बुझाइ छ ।
पौडेल समूहले भने विधानसम्मत् उठाएको विषयलाई न्यायपूर्ण र विधिसम्मत् समाधान गर्न माग गरेको छ ।
नेतृत्वबाट अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष–विपक्षको रुपमा ध्रुवीकृत गराउने खेल बढेको भन्दै पौडेल समूह रुष्ट छ ।
संगठन समायोजन, भ्रातृसंस्था, जनसम्पर्क समितिहरुको मुद्दा बनाएर महाधिवेशन पछाडि धकेल्ने षड्यन्त्रमा संस्थापन पक्ष रहेको आरोप यो समूहको छ ।
सभापति देउवा समस्या समाधान गर्न गम्भीर नदेखिए संघर्ष गर्ने चेतावनी पौडेल समूहको छ ।
विधानविपरीत बाँडिएका सबै क्रियाशील सदस्यता खारेज गर्न पौडेल समूहले भनेको छ ।
आफ्नै विरोधका कारण तत्कालीन पार्टी सभापति स्व. सुशील कोइरालाले निर्णयहरु फिर्ता लिएको स्मरण गर्न सभापति देउवालाई उनीहरुले आग्रह गरेका छन् ।
सभापति देउवाले विगतमा तत्कालीन सभापति सुशील कोइरालाले समयसीमा नाघेर विभाग गठन गर्दा आफूनिकट नेताहरुलाई पार्टी कार्यालयमा धर्ना बसाउने, केन्द्रीय सदस्यबाट राजीनामा दिन लगाउने र नौ महिनासम्म केन्द्रीय कार्यसमिति बैठकमा नगएको नजिर बसाउनुभएको छ । जसलाई अहिले पौडेल समूहले पच्छ्याएको छ ।
देउवा–पौडेल जुहारीमा सिटौला समूहले भने मौनता साँधेको छ । सभापति देउवाको स्वेच्छाचारीता बढेको भन्दै विरोध गरिरहनुभएका नेता कृष्णप्रसाद सिटौलाले पौडेल समूहसँगको पटक पटकको छलफलमा आफूनिकट नेताहरुलाई सहभागी गराएपनि इतर समूहको मोर्चाबन्दीबाट भने पछि हट्नुभयो ।
मोर्चाबन्दीमा उहाँनिकट केन्द्रीय सदस्यहरु हस्ताक्षर गर्न तयार भएपनि शनिबार बिहान सभापति देउवासँगको छलफलबाट उहाँ पछि हट्नाले महाधिवेशनकेन्द्रित देउवा–सिटौला गठबन्धनको चर्चा पनि कांग्रेसवृत्तमा सुरु भएको छ ।
सभापति देउवाको चारवर्षे कार्यकाल सकिएपछि विशेष परिस्थितिका कारण एक वर्ष थपिएको छ । तर, यसबीचमा इतर समूहसँगको उहाँको सम्बन्ध झन्-झन् बिग्रँदै गएको छ । कांग्रेस आन्तरिक किचलोको दलदलमा एकपछि अर्को गर्दै फस्दै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्