१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अझै जुटेन सहमति, वामदेव र नारायणकाजीलाईसमेत मन्त्रिमन्डलमा समेट्नुपर्ने पक्षमा दाहाल


0
Shares

kp oli prachanda

काठमाडौं, असोज १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे मंगलबार पनि सहमति जुट्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै तीन घन्टा भएको छलफल बिनानिष्कर्ष टुंगिदा मन्त्रिपरिषद् पुनगर्ठनको विषय पेचिलो बन्दै गएको छ ।

असोज ६ गतेको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेयता उहाँहरुबीच पछिल्लो केही दिनयता लगातार छलफल भइरहेको छ ।

उहाँहरुबीच केही मन्त्रीमात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा सहमति बन्न नसकेको बताइन्छ ।

प्रधानमन्त्री ओली तीनजना मन्त्री फेर्दै बाँकी तीन मन्त्रालय फुटाएर तीनजना नयाँ मन्त्रीसहित बढीमा छजना मन्त्री फेर्ने मनस्थितिमा रहेको बताइन्छ भने दाहाल पुनर्गठनकै सन्देश दिनेगरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाईसमेत मन्त्रिमन्डलमा समेट्नुपर्ने पक्षमा उभिनुभएको छ ।