
काठमाडौं । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।
शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ ।
छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो ।
तर, तीन खेलमा सन्दीपले मौका पाएका छैनन् । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ ।
अघिल्ला दुई खेलमा दिल्ली अपराजित रहेको थियो । दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।
दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्