७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


नेपाली कांग्रेस : विसर्जन वा पुनःजागरण ?


26
Shares

-तेजप्रसाद लामिछाने

२०७४ संघीय संसदको आमनिर्वाचनमा प्रत्यक्ष तर्फ १६५ सिटमा जम्मा २३ वटामा खुम्चियो नेपाली काङ्ग्रेस । सातवटा प्रदेश सभाको चुनावी नतिजा हेर्ने हो भन्ने एक ठाउँमा पनि खुट्टा राख्ने ठाउँ छैन । स्थानीय निकायमा काङ्ग्रेसको प्रतिनिधित्व त झन् कन्त बिजोग छ । पार्टी पराजित भएपछि चुनावी समिक्षा गर्न बसेको केन्द्रिय समितिको बैठकमा नेतृत्व माथी नैतिकताको प्रश्न उठाउने प्रभावशाली केन्द्रिय नेतालाई अनुशासनको कारवाही गर्छु भन्न समेत भ्याए सभापति देउवाले । राणा परिवारमा बिवाह सम्बन्धमा बाँधिएपछी आफुलाई सम्रान्त राजघराना गनिएका देउवासंग भिड्न १३ औं अधिबेशनमा नेतृत्वको निम्ति गठन भएका विभिन्न नामधारी समूहबाट गएको तीन बर्षसम्मको उपलब्धि हेर्दा पार्टी नेतृत्वको अतिवाद रोक्ने हिम्मत देखिएन ।

चुनावमा पराजित भएर निराश भएका काङ्ग्रेस कार्यकर्ता केन्द्रिय नेतृत्वले पार्टी भित्र गरेको मनपरीतन्त्र र अधिनायकवाद कार्यशैली देखेर पूरै डिप्रेसनमा छन् । बिशेष अधिबेशन छल्दै आएको केन्द्रिय मुल नेतृत्वले अहिले नियमित अधिबेशन पनि छल्ने कसरतमा लागेको प्रष्ट देखिदैछ । गाउँघरका सामान्य कार्यकर्ताहरुले समेत ७० बर्ष पूरानो र ठुलो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेस विसर्जनतर्फ उन्मुख भएको सजिलै महसुस गर्दैछन् ।

युद्धको मैदानमा सेनापतिको कमजोर कमान्डले पराजित सिपाहीहरुसंग दुईवटा विकल्प रहन्छ । पहिलो विकल्प युद्धको मैदान छोडेर भाग्ने । दोस्रो विकल्प आत्मसमर्पण गर्ने । त्यसैगरी अहिले नेपाली काङ्ग्रेससंग दुईवटा बिकल्प देखिन्छ । एउटा पार्टीलाई पुनर्जीवन दिने । अर्को पार्टीलाई बिर्सजनतर्फ लैजाने । काङ्ग्रेसलाई पुनर्जीवन दिने हो भने ‘जहानिया शासनको झल्को’ दिने पार्टी मुल नेतृत्वको मनपरितन्त्रको विरुद्धमा नेतृत्व इतरपक्षले बलियो नयाँ मोर्चा गठन गरेर आन्तरिक लोकतन्त्रको निम्ति आन्दोलन छेड्ने हिम्मत राख्न सक्नुपर्छ । ब्यक्तीको नामथरबाट गठन भएका विभिन्न गुट र समुह पुरै खारेजी गरिनुपर्छ । प्रजातन्त्र पुनः स्थापनाको निम्ति २०४६ सालको संयुक्त जनआन्दोलन र संविधान सभाको लागि २०६२/०६३को दोस्रो जनआन्दोलनको रणनीति अपनाउनु पर्छ ।

२०७४ को आमचुनावमा नेपाली काङ्ग्रेस पराजित हुन्छ भन्ने कुरा १३औं महाधिवेशनमा बिजयी पार्टी मुल नेतृत्वको कार्यशैली र उसको हर्कतले पहिल्यै देखाई सकेको थियो । पार्टी भित्र ठूलै जोखिम उठाएर नेता र कार्यकर्ताको व्यापक विरोध सहेर काङ्ग्रेस सभापति देउवाले बाउलाई प्रधानमन्त्री छोरीलाई महानगरको मेयर दिएर प्रचण्डलाई आफनो निकट बनाए । कुर्चिको लागि प्रचण्डलाई खुशी पार्न जे पनी दिन देउवा राजी थिए । देउवा नेतृत्व काङ्ग्रेसको अलोकप्रियताबाट आफ्नो राजनितिक भबिष्य सुरक्षित नदेखेपछी आफ्नो मालिकलाई नै लात्तीले हानेर भाग्ने घोडा जस्तै गरे प्रचण्डले । संघीय चुनावमा आफ्नो साख बचाउन केपी ओलीको दौराको फेरो समाउन पुगे प्रचण्ड ।

आम नागरिक भन्दा आफुलाई बाठो ठानेर दुइटा कम्युनिष्ट पार्टी मिलेर काङ्ग्रेस पराजित भएको भन्न सक्ने काङ्ग्रेस नेतृत्वलाई अलिकति पनि लाज शरम छैन । काङ्ग्रेस र राप्रपाको छुट्टाछुट्टै बलियो पार्टी संगठन भएको चितवन र रुपन्देहीमा किन पराजित भयो राप्रपा काङ्ग्रेसको गठबन्धन ? काङ्ग्रेस नेतृत्वसंग कुनै उत्तर नै छैन । किन कि पार्टी नेतृत्व आफ्नो गल्ती स्विकार्न तयार छैन । आगामी चुनावसम्म यहि नेतृत्वले निरन्तरता पायो भने काङ्ग्रेसको अस्तित्वमा नै संकट देखिदैछ । हो यस्तै कारणले काङ्ग्रेस विसर्जन उन्मुख हुने हो कि भन्ने चिन्ता छ अहिले आम कार्यकर्ता माझ ।

सरकारको नेतृत्व गर्ने पार्टी र पार्टीको नेतृत्व गर्ने संस्थापन पक्षमा केही दम्भ, अहंकार र अतिवाद त हुन्छ नै । कुर्सीमा पुगेपछि शक्ति देखाउन पर्ने कतिको रहर र स्वभाव पनि हुन्छ । यस्तो अलोकतान्त्रिक संस्कारलाई निस्तेज गर्न संसदमा प्रतिपक्षी दल, पार्टी भित्र संस्थापन इतरपक्षको प्रमुख भुमिका रहन्छ । शासकीय सुशासनमा सरकार संचालन गराउन र लोकतान्त्रिक पद्धतिमा पार्टी संगठन चलाउन पार्टी भित्र र बाहिर नेपाली काङ्ग्रेस नेतृत्वको प्रस्तुति कमजोर देखिएकै हो । अर्बौं अर्बका भ्रष्टाचारमा सरकारका मन्त्रीसंग प्रतिपक्ष दलको नेताको नाम जोडियो ।

संसदमा प्रतिपक्षी दलको प्रभावकारी भुमिका निभाउन नसक्ने । सरकारसंग लाभका पदमा भागबन्डामा मिलाउन सुटुक्क प्रधानमन्त्री निवास बालुवाटार छिर्ने । यही कारण सरकारको गलत कार्यशैलीमा बिरोध गर्ने नैतिक धरातल त सकिगो नि । प्रत्यक्ष अप्रत्यक्ष रुपमा संस्थापन पक्षसंग नियुक्ति र मनोनयनमा हिस्सा खोज्न गएपछि आफूसंग पराजित इतरपक्षका नेतालाई देउवाले हेप्ने त भए नै । पार्टी हितको निम्ति कार्यकर्ताको मनसाय बुझेर ठिक कुरामा ठिकसंग अडान लिन नसक्ने । आफ्ना समकक्षी मित्र र सहपाठीलाई मिलाएर नेता बन्न नसकेपछि नेतृत्व असफल त हुन्छ नै ।

सरकारबाट भएका ठूला ठूला भ्रष्टाचार र अत्याचारको मुद्दामा प्रतिपक्षी दलको नेताले संसदमा चुइक्क बोल्न, रोष्टम घेर्न नसकेपछि कङ्रेसका अरु दर्जनौं प्रभाबशाली नेताहरु विशाल आमसभा र ठुला मिडिया हाउसमा जति बिरोध गरेपनि केही अर्थ नरहदो रहेछ । ठिक त्यसैगरी कङ्रेस पार्टी नेतृत्वको बिपक्षमा ब्याक्तीका नामथरमा गठन भएका जनमत र नैतिक धरातल भए नभएका विभिन्न समूहहरुमा द्वय चरित्र देखिएका कारण सभापति देउवालाई पार्टी भित्र मनपरितन्त्र चलाउन, आफू अनुकुल पार्टी संचालन गर्न सजिलो भएको कुरा सबैका अगाडि छर्लङ्ग छ ।

अहिलेको पार्टी नेतृत्वबाट नेपाली काङ्ग्रेसको भबिष्य अन्धकार देख्नेहरु, आगामी चुनाबमा काङ्ग्रेसको जनमत बढाएर पार्टीलाई सत्तामा पुर्याउन खोज्नेहरु सबै एक हुन जरुरी छ । १२औं र १३औं महाधिवेशनमा प्रतिनिधि मतदाताबाट उत्कृष्ट मत प्राप्त गरेका, नैतिकवान, स्वभिमान, निडर, विचारमा अडिग र नेतृत्व क्षमता भएका वरिष्ठतम् र लोकप्रियताका आधारमा नेतृत्व इतरपक्षको नाममा नयाँ बृहत टिम गठन गर्ने । पचास प्रतिशत केन्द्रिय शिर्ष नेता र पचास प्रतिशत जुझारु, सादगी र निष्ठावान युवा नेताहरूको संयुक्त ८/१० जनासम्मको बोर्ड अफ कमिटी बनाउने । यो शक्तिशाली टिमको मुख्य उद्देश्य लोकतान्त्रिक पद्धतिमा निश्चित समय भित्र निष्पक्ष रुपमा १४औं महाधिवेशन गराउन पार्टी नेतृत्वलाई बाध्यकारी बनाउने । नेतृत्वलाई दवाब दिन जिल्ला सभापतिहरुको भेला, महासमितिको बैठक, महाधिवेशन प्रतिनिधिहरु परिचालन, आम कार्यकर्ता माझ गएर पार्टी हितको के गर्न सकिन्छ भनेर राय सल्लाह र सहयोग लिने सक्ने हैसियत देखाउने । अधिनायकवाद उन्मुख अहिलेको पार्टी नेतृत्वलाई लोकतान्त्रिक पद्धतिमा ल्याउन त्यति सजिलो कसैले नठाने हुन्छ ।अधिबेशन सुनिश्चित भएर मनोनयन गर्ने केही दिन अघि मात्र आगामी पार्टी नेतृत्वमा सर्वसहमतीको बहस गर्न खोज्दा नै बढी श्रेयकर होला ।

र अन्त्यमा,
अघिल्लो अधिबेशनमा सभापतिका उम्मेदवार रामचन्द्र पौडेलले आफू अभिभावकत्वको ग्रहण गरेर पार्टी हितको निम्ति बलियो टिम गठन गर्न मार्ग प्रसस्त गरिदिंदा उनको राजनैतिक हाईट अझ बढ्ने छ । कोइराला परिवारको कृपा र आशीर्वादले सरकार र पार्टीको उच्च ओहादामा पुगेका कृष्ण सिटौला अघिल्लो अधिबेशनका अर्का सभापति उम्मेदवार हुन् । जम्मा ३२४ मतको हैसियत भएपनि गगनलाई साथ लिएर गुटको नेता बनेका सिटौला आफुलाई सबैभन्दा बाठो सम्झिन्छ्न । काङ्ग्रेस भित्र र देशको समग्र राजनीतिमा ठुलै महत्व र अर्थ राख्ने नेता गगन कुमार थापाले सिटौला माथि निर्भर भएर राजनैतिक उचाई घटाउनु हुँदैन । आम कार्यकर्ताहरुको भावना बुझेर नयाँ बृहत् टिमको कमान्डिङ बोर्डमा समाबेश भएमा उनीसंगै र काङ्ग्रेस पार्टीको निम्ति बेहत्तर हित हुन सक्छ ।

आफनो कार्यकालमा समयमै अधिबेशन गराएर नेतृत्व हस्तान्तरण गराएका नैतिकवान नेबिसंघ पुर्वअध्यक्ष बिश्वप्रकाश शर्मा सिटौलाको कारणले देउवाको शरणमा पुगेको धेरैको बुझाई छ । नेता सिटौला र शर्माको स्वभाव र आचरण हेर्दा नेतृत्वको पदाधिकारी हुनेगरि कृष्ण सिटौला देउवा टिममा र प्रवक्ता शर्मा नेतृत्व इतरपक्षको बृहत टिममा सहभागी भएमा नेता शर्माको राजनीतिक उचाई र पार्टीको भबिष्य उज्ज्वल देखिन्छ ।

१२औ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका नेता प्रकाशमान सिंह पार्टीमा संगठन र काङ्ग्रेस नेतृत्व सरकार संचालनमा प्रभावकारी भुमिका खेल्ने नेता हुन भनेर भन्नेहरु प्रशस्त छन् । आफ्नो कार्यकाल स्वर्णिम बनाएका नेता सिंह अधिबेशन सुनिश्चित गर्न, पार्टी भित्रको मनपरितन्त्रलाई निस्तेज गर्नको निम्ति नेतृत्व लायक नेता हुन भनेर विश्लेषण पनि गरिन्छ । नेतृत्व इतरपक्षमा देखिएका विभिन्न ब्यक्ती एवं समूहलाई ब्यावस्थापन गरि बृहत्त सामूहिक टिमको नेतृत्वमा नेता सिंहलाई अगाडी ल्याउँदा कार्यकर्तामा थप उत्साहले नेपाली काङ्ग्रेसमा पुनर्जीवन ल्याएर पार्टी विसर्जन उन्मुख हुनबाट बचाउन सकिन्छ भन्ने थोरै भएपनि आश राख्न सकिन्छ ।