२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अध्यक्षद्वय ओली र दाहालबीचको भेटवार्ता स्थगित


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज(बुधबार) हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुर्नगठन पनि अनिश्चित भएको हो ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत बिहीबारयता दैनिकजसो भेटवार्ता हुँदै आएका छन् ।

हिजो दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भएपनि अध्यक्ष प्रचण्डले आजको भेटवार्ता स्थगित गर्न आग्रह गरेपछि भेटवार्ता स्थगित भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

तर दुई अध्यक्षबीचको भेटवार्ता स्थगित भएपनि कारणबारे खुलाइएको छैन । यसअघि लगातार भएका छलफल र भेटवार्तामा दुवै अध्यक्षले आआफ्ना अडान नछोड्दा मन्त्रिपरिषद पुनगर्ठनमा ढिलाई हुँदै आएको छ ।

प्रधानमन्त्री समेत रहेका केपी ओली अहिलेको मन्त्रिपरिषदमा रहेका धेरैजसो मन्त्रिहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष प्रचण्ड राम्रो पर्फमेन्स देखाउन नसक्ने मन्त्रिहरुलाई विदाइ गरेर नयाँ र काम गर्नसक्नेलाई समेट्नुपर्ने पक्षमा हुनुहुन्छ ।

तर मापदण्डबारे छलफल गर्न जुटेका ओली र प्रचण्ड आ–आफ्नो अडानमा कायमै रहेकाले मन्त्रिपरिषद हेरफेर अनिश्चित बनेको हो ।