
रुपन्देही, असोज १४ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाकाअनुसार रुपन्देहीको देवदह नगरपालिका–११ का ५५ वर्षीय पुरुषको उपचारकाक्रममा बिहान १० बजे मृत्यु भएको हो ।
यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुषको ‘पीसीआर’ परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’ देखिएपछि कोरोना अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार भइरहेको थियो । उनमा मिर्गाैला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ ।
यससँगै अस्पतालमा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
कपिलवस्तुमा महिलाको मृत्यु
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ निवासी ५० वर्षीया कोरोनाभाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।
उनको बिहान ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो । उनी थाइराइड, मधुमेह, निमोनिया र दीर्घरोगबाट ग्रसित थिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो ।
असोज ५ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताउनुभयो ।
यससँगै कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्