१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस महाधिवेशन फागुनमै गर्न पौडेल समूहको जोड, सार्ने संस्थापनको रणनीति


0
Shares

politics nepali congress

काठमाडौं, असोज १४ । संशोधित कार्यतालिकाबमोजिम नेपाली कांग्रेसको १४औं महाधिवेशन फागनुबाट टाढिँदै गएको छ ।

असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका पुनः संशोधन गरेर संवैधानिक व्यवस्थाबमोजिम छ महिना म्याद थप्ने सम्भावना छ ।

पार्टीमा विधानविपरीत काम भएको आरोप लगाइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूह फागुनमै महाधिवेशन गर्ने विकल्प अघि सारिरहेको छ । संस्थापन पक्ष भने कुनैपनि हालतमा फागुनमा महाधिवेशन गर्न नसकिने बताउँछ ।

असार मसान्तभित्र पार्टी समायोजनको बाँकी काम सकेर साउन मसान्तभित्र क्रियाशील सदस्यहरुको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने गरी कांग्रेसले १४औं महाधिवेशनको कार्यतालिका तीन महिनाअघि संशोधन गरिएको हो । तर, अझै केही जिल्लाहरुमा पार्टी समायोजनको काम बाँकी नै छ । क्रियाशील सदस्यता नवीकरण र वितरणमा विवाद बढ्दो छ ।

पार्टीले १४औं महाधिवेशनमा १० लाख क्रियाशील सदस्य संंख्या पुर्‍याउने महत्वाकांक्षा पालेको छ । तर, संस्थापन पक्ष नै फागुनमा महाधिवेशन नहुने ठोकुवा गरिरहेको छ ।

कार्यतालिका संशोधन गरिएपनि कोरोनाका कारण महाधिवेशनकेन्द्रित गतिविधिले गति लिन सकेको छैन । बरु, सिंगो पार्टी बेथितिको किचलो र दलदलमा फसेको छ ।

कार्यतालिकाबमोजिम ‘फास्टट्रयाक’मा काम गर्ने हो भनेपनि महाविधेशनको सम्भाव्यता न्यून छ । विधानबमोजिम पार्टीको प्रदेश संरचना नै अस्तित्वमा नहुँदा स्थानीय तहको टोलदेखि केन्द्रीय कार्यसमिति फागुनभित्रै बन्ने संकेत कतै देखिँदैन ।

पौडेल समूहले पुरानै प्रतिनिधिहरुबाट महाधिवेशन गर्न सकिने विकल्प अघि सारेको छ ।

फागुनमै महाधिवेशन गर्ने विगतमा दाबी गरिरहेको संस्थापन पक्ष कार्यतालिका पुनः फेरबदल गर्न कस्सिएको छ ।

महाधिवेशनको मेरुदन्ड क्रियाशील सदस्यता वितरणमा समूहगत स्वार्थ हावी हुँदा पुसबाट वडा अधिवेशन हुने संकेत देखिँदैन ।

विशेष परिस्थिति भनेर विधानको छिद्रता प्रयोग गरेर थपिएको एक वर्षमा सभापति पक्षधरहरु विभाग गठन र विस्तारको चटारोमा रुमलिँदा महाधिवेशनलाई छायामा पारिएको छ ।

इतर समूह सभापति शेरबहादुर देउवाले विधानभन्दा आफूलाई माथि राखेको भन्दै संघर्षमा उत्रिएका छन् ।

विभाग र क्रियाशील सदस्यतामा आफूले पकड बनाउने संस्थापन पक्षको तयारी र त्यसलाई विरोध गरेर आफ्नो पक्ष बलियो बनाउने इतर समूहको रणनीतिले कांग्रेसमा महाधिवेशनको एजेन्डा विषायान्तर बन्न पुगेको छ ।

कोरोनालाई देखाउने तर आन्तरिक झगडा गरिरहने प्रवृत्ति तीनओटै समूहले नत्याग्ने हो भने थप छ महिनामा पनि कांग्रेस महाधिवेशनको अन्योल कायमै रहने देखिन्छ ।

भिडियो हेर्नुहोस्