
काठमाडौं, असोज १४ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा बलात्कारका घटना बढिरहेपनि विश्वका अरु देशको तुलनामा अवस्था चिन्ताजनक नभएको बताउनुभएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा उहाँले विश्वका २०० भन्दा बढी देशको तथ्यांक विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको बताउनुभएको हो ।
गृहमन्त्री थापाले ‘नेपालको स्थान पछाडिबाट हेर्दा सवा २०० मुलुकमध्ये टप १५ मा छौं’-भन्नुभयो ।
मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम् प्रयत्न भएपनि पछिल्लो समय हरेक दिन छ/सातजना बलात्कृत हुने गरेको तथ्यांक रहेको बताउनुभयो ।
पछिल्लो समय बालिका र महिलामाथि हुने बलात्कारका घटना बढेकाले कानुनलाई अझ कडाइ गर्नुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्री थापाले घटना रोक्न निष्ठापूर्वक प्रयत्न भइरहेको बताउनुभयो ।
गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कारबाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधीलाई कानुनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभयो ।
बझाङकी सम्झना कामीलगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानुनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको उहाँको भनाइ थियो ।
सम्झनाको यही असोज ७ गते बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको पनि गृहमन्त्रीले जानकारी दिनुभयो ।
बैठकमा नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सप्तरीको घटनामा पनि पञ्चायती गरेर पीडितलाई सजाय गरेको अवस्था रहेको देखिएको बताउनुभयो ।
समाजले फौजदारी अभियोगमा मिलपत्र गर्ने पराम्पराले यस्ता घटनाहरुलाई मलजल गरेको बुझाइ प्रहरीको रहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्