१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फुटबलको अभ्यास अलमलमा


0
Shares

काठमाडौं, असोज १४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबलको अभ्यासका लागि सरकारसँग माग गरेको भएपनि अहिलेसम्म सरकारले कुनै स्वीकृति दिएको छैन ।

कोरोनाभाइरसका संक्रमित दिनानुदिन बढेपनि अरु क्षेत्र धमाधम खुला भइरहँदा एन्फाले पनि स्वास्थ्य मापदन्ड पूर्णपालना गरी अभ्यासका लागि माग गरेपनि सरकारले वास्ता नगरेको हो ।

कोरोना महामारीकै कारण कतार विश्वकप छनोटअन्तर्गत् दोस्रो चरणको खेलतालिका जनवरीसम्म स्थगित भइसेकेको छ ।

कोरोनाको संक्रमण बढ्दै जाँदा घरेलु प्रतियोगिता प्रायः ठप्प हुँदा खेलाडीको दिनचर्या घर-आँगनमै सीमित भएको छ । अहिले स्वास्थ्य मापदन्ड बनाएर अरु खेलकुद गतिविधि फर्किने जमर्को गरिरहेका छन् ।

अभ्यासमा फर्किनका लागि सरकारसमक्ष अनुमति माग भइरहेको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताउनुभयो ।

खेलाडीहरु पनि अभ्यासमा फर्किन आतुर रहेको बताउँदै उपाध्यायले पछिल्लो समय मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएकाले अभ्यास अत्यावश्यक भएको बताउनुभयो ।

एन्फाले खेलाडीलाई फिट राख्न आधुनिक प्रविधिसँगै अनलाइनको माध्ययमबाट प्रशिक्षण दिइरहेको छ ।

फिफाको गाइडलाइनअनुसार घरमा सीमित भएका खेलाडीलाई शारीरिक हिसाबमा स्वस्थ रहने टिप्स प्रदान गर्दै आएको राष्ट्रिय फुटबल टोलीका फिजियो आविष्कार पुडासैनले जानकारी दिनुभयो ।

तत्काल कुनैपनि प्रतियोगिता सञ्चालन हुने अवस्था नभएपनि अभ्यासका लागि स्वीकृति पाए प्रस्तावमा आएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाली टोलीका लागि भने लाभदायी हुनेछ ।