१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यात्रुको चाप अत्यधिक बढेसँगै आन्तरिक हवाइ उडानको संख्या थपियो


0
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको संख्या थप गर्न अनुमति दिएको छ ।

लामो समयको लकडाउनपछि हवाइ तथा स्थल यातायात सेवा सुचारु भएसँगै यात्रुको चाप बढेपछि प्राधिकरणले आन्तरिक उडानको संख्या थप्न अनुमति दिएको हो ।

निजी हवाई सेवा प्रदायकहरुले यात्रुको चाप बढेको भन्दै उडान संख्या बढाउन माग गर्दै आएका थिए ।

आजदेखि आन्तरिक हवाई उडान गर्ने विभिन्न आठ निजी वायुसेवा कम्पनीका जहाजले दैनिक ७४ वटा उडान गर्ने भएका छन् ।

६ महिनापछि गत असोज ५ गतेदेखि उडान थालेका ती कम्पनीलाई २५ प्रतिशत मात्रै उडान गर्न प्राधिकरणले अनुमति दिएको थियो ।

नयाँ तालिका अनुसार अब बुद्ध एयरले सबै भन्दा बढी दैनिक २९ वटा उडान गर्न पाउने छ । बुद्धले यसअघि दैनिक १८ वटा उडानको अनुमति पाएको थियो ।

यस्तै यति एयरलाइन्सलाई दैनिक १९ वटा उडानको अनुमति पाएको छ । त्यसैगरी श्री एयरले १२, तारा, समिट र सिता एयरले ४–४ तथा सिम्रिक र सौर्य एयरले २-२, उडानको अनुमति पाएका छन् ।

सिम्रिकको काठमाडौं–पोखरा दैनिक २ उडान रहेको छ । तारा एयरको काठमाडौंबाट लुक्ला दैनिक ३ उडान, फाप्लु हप्तामा ३ उडान गर्नेछ ।

यसैगरी सिता एयरले काठमाडौंबाट दैनिक ताप्लेजुङ २ उडान र लुक्ला दैनिक १ उडान गर्नेछ । समिट एयरले काठमाडौं–लुक्ला दैनिक २ उडान र जोमसोम हप्तामा ५ वटा उडान गर्नेछ ।

प्राधिकरणका अनुसार यो तालिका अक्टोबर महिनाभर लागु हुनेछ । परिस्थितिको अवस्था हेरि उडान थपघटको निर्णय हुन सक्ने प्राधिकरणले जनाएको छ ।