
झापा । सीमाको सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न झापाका विभिन्न नौ स्थानमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट स्थापना गर्न सुरु गरेको छ ।
एक वर्षभित्रमा प्रदेश–१ मा २२ वटा बिओपी स्थापना गर्ने सरकारको उद्देश्य छ । सोही अनुरुप झापामा अहिले धमाधम बीओपी स्थापनाको काम भइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रदेश–१ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले यो वर्ष झापाका ९ स्थानमा नयाँ बिओपी स्थापना गर्ने बताउनुभएको छ ।
स्थानीय पालिका र सर्वसाधारणसँग सहकार्य गर्दै जिल्लाको पूर्वाेत्तर क्षेत्र मेचीनगर–१ तिरिङदेखि पश्चिम दक्षिण भारतीय सिमावर्ती क्षेत्र गौरीगञ्ज गाउँपालिका–२ आँपगाच्छीसम्मको १४४ दशमलव २ किलोमिटर क्षेत्रफलमा नौ वटा बिओपी स्थापना गर्न लागिएको हो ।
जसका लागि चार ठाउँमा बिओपी स्थापना गर्न स्थानीय दाताबाट जमिन प्राप्त भइसकेको र टेण्डर प्रक्रियामा गएको दाहालको भनाइ छ ।
बिओपी स्थापनासँगै सीमाको सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
प्रदेश–१ का १४ जिल्लामध्ये यो वर्ष झापामा सबैभन्दा धेरै नौ ठाउँमा बिओपी स्थापना हुँदैछन् ।
झापामा यो वर्ष कचनकवल गाउँपालिका–५ पाठामारी, भद्रपुर नगरपालिका–५ भन्सार कार्यालय, झापा गाउँपालिका–५ पन्थापाडा, मेचीनगर–१ तिरिङ, गौरीगञ्ज गाउँपालिका–२ आँपगाछी, भद्रपुर नगरपालिका–३ महेशपुर, मेचीनगर–५ नकलबन्धा, मेचीनगर–१५ ज्यामिरगढीलगायतका स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट निर्माण हुन लागेका हुन् ।
यसैबीच संघीय सरकारबाट आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को बजेटले सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापामा तीन वटा भवन निर्माण गरिएको छ ।
निर्माणाधिन भवनमध्ये महिला ब्यारेक ३१ लाख ८५ हजार १ सय २० रुपैयाँ, जवान व्यारेक ४० लाख २४ हजार ८ सय ८ रुपैयाँ र मेस ब्लक १९ लाख ७५ हजार १ सय ४२ हजार रुपैयाँमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे बताउनुहुन्छ ।
झापामा सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेड क्वार्टरले १३ वर्षपछि सुविधासम्पन्न भान्सा घर, प्रहरी जवान र महिला ब्यारेक निर्माण गरेको हो ।
झापामा थप बिओपी स्थापनासँगै चुनौतिका रुपमा रहेको अवैध हातहतियार, लागू औषध ओसारपसार र मानव बेचबिखन नियन्त्रणमा समेत सहज हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्