१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो गजुर


13
Shares

काठमाडौं, असोज १५ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गरिएको छ ।

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको हो ।

यसअघि, गुम्बज शैलीमा निर्माण गरिएको उक्त मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनःनिर्माण गरिएको छ ।

१९९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनःनिर्माण गरिएको थियो । तर, यसपटक फेरि पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।

मन्दिरको शिरमा रहेको गजुरको कुल उचाइ ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको बताउनुभयो ।

मन्दिरको गजुर १२३.७५ किलो ताम्रपत्र प्रयोग गरी निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ ।

गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

२०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएपछि पुनःनिर्माणको काम सुरु भएको थियो ।

तर, आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो ।

शिलान्यास भएको करिब पाँच वर्षपछिमात्रै रानीपोखरी पुनःनिर्माणको काम सकिने चरणमा छ ।

प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटीकाको दिन मन्दिर खुला गर्नेगरी पुनःनिर्माणको सबै प्रक्रियालाई सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको बताउनुभयो ।

अब मन्दिरभित्र रहने मूर्तिहरुको प्राण प्रतिष्ठान गरी प्रतिस्थापन गरेपछि औपचारिकरुपमा उद्घाटन गरिनेपनि उहाँले बताउनुभयो ।