१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लोकसेवाको नक्कली परीक्षा नै चलाउने ठग समातिए


0
Shares

वीरगन्ज, असोज १५ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर-१६ बाट बुधबार २७ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी तथा अनुसन्धान ब्यूरोमा विभिन्न पदमा जागिर लगाइदिने भन्दै कीर्ते परीक्षा सञ्चालन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा २१ जना परीक्षार्थीसमेत रहेका छन् ।

वीरगन्ज-१६, नगवामा रहेको देव पार्टी प्यालेसमा नक्कली परीक्षा लिइरहेको अवस्थामा प्रहरीले छापामारी उनीहरुलाई पक्रेको हो ।

लोकसेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको नक्कली लिखित परीक्षा त्यहाँ सञ्चालन गरिएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले परीक्षा लिने नक्कली इन्स्पेक्टर र सहयोगीसहित परीक्षार्थीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाले जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट तीन लाख रुपैयाँ बढी ठगी गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेमा मुख्य आरोपी भनिएका बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजयकुमार राय छन् । उनलाई प्रहरीको पोसाकमै नियन्त्रणमा लिइएको हो ।

उनी नक्कली इन्स्पेक्टर बनेर परीक्षा सञ्चालन गरिरहेका थिए । उनका साथबाट विभिन्न प्रवेशपत्र र प्रश्नपत्रहरुसमेत बरामद गरिएको छ । उनी यसअघि पनि सरकारी छाप दस्तखत कीर्ते मुद्दामा जेल परेर निस्किएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।