
काठमाडौं, असोज १५ । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरीवेक्षण ‘म्यानुअल’ २०७७ बिहीबारदेखि कार्यान्वयनमा ल्याएको छ ।
अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न जोखिममा आधारित सुपरीवेक्षणको म्यानुअल लागू गरिएको बोर्डले स्पस्ट पारेको छ ।
बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यसअघि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा बोर्डले सुपरीवेक्षण गर्दै आएकोमा आजदेखि अन्तर्राष्ट्रियस्तरको रुपबाट जोखिममा आधारित सुपरीवेक्षण गर्नका लागि सुपरीवेक्षण म्यानुअल बनाएर जारी गरिएको बताउनुभयो ।
यसबाट जोखिममा आधारित सुपरीवेक्षण कसरी गर्ने भन्ने सम्बन्धमा ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको कारोबार, कार्यालय, ग्राहकलाईसमेत समेटेर ‘प्यारामिटर’ तयार गरी सोही आधारमा जोखिम गणना गरिने श्रेष्ठले स्पस्ट पार्नुभयो ।
जोखिमको गणना गर्दा १ देखि ५ सम्म अंक दिइने गरी म्यानुअल तयार पारिएको उहाँले बताउनुभयो ।
यसअनुसार जसको सबैभन्दा बढी जोखिम अर्थात् ५ अंक आउँछ, त्यसको वर्षैपिच्छे स्थलगत निरीक्षण गरिने पनि उहाँले बताउनुभयो ।
कम जोखिम आउनेलाई दुई तीन वर्षको अन्तरालमा स्थलगत निरीक्षण गरिने श्रेष्ठले बताउनुभयो ।
नेपालको धितोपत्र क्षेत्र सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट मुक्त होस् भन्ने उद्देश्यले म्यानुअल तयार पारी लागू गरिएको उहाँले बताउनुभयो ।
सकेसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धित क्रियाकलाप नहोस् भन्ने रहेको र भइहाल्यो भनेपनि सुपरीवेक्षण म्यानुअलबाट भेटाउन सजिलो हुने विश्वास बोर्डको रहेको श्रेष्ठले बताउनुभयो ।
सुपरीवेक्षण म्यानुअलबाट व्यवसायीको स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षण गरिने, धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणत्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्यांकन हुनेछ ।
यसबाट उनीहरुसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण जोखिम कति हुन्छ भनेर गणना गर्नसक्ने स्थितिमा बोर्ड पुगेको श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्