१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गृहमन्त्रीको हलुका टिप्पणीको चर्को आलोचना


0
Shares

काठमाडौं, असोज १५ । नेपालमा एक दशकयता बलात्कार र बलात्कारजन्य घटना चार गुणा बढीले बढेको देखिन्छ ।

चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र ४९६ बलात्कारको मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

तथ्यांकले यस्तो बताइरहँदा गृहमन्त्री रामबहादुर थापाले भने राजनीतिक संक्रमणकालमा यस्ता घटना भइहाल्ने र अरु मुलुकसँग तुलना गर्दा चिन्ताजनक नभएको अभिव्यक्ति दिएपछि यसको चर्को आलोचना भएको छ ।

यही असोज ७ गते बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या भयो भने सप्तरीकी १७ वर्षीया संगीता मण्डलले सामूहिक बलात्कारपछि न्याय नपाउँदा आत्महत्याको बाटो रोजिन् ।

दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्याकान्डमा संलग्नलाई सरकारले अझैपनि कानुनी दायरा ल्याउन सकेको छैन । यी त केही प्रतिनिधि घटनामात्र हुन् ।

सरकारी निकायकै तथ्यांक हेर्ने हो भनेपनि नेपालमा वर्षेनि ठूलो संख्यामा बलात्कारजस्तो जघन्य अपराध हुने गरेको छ ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा बलात्कारको घटना बढ्दोक्रममा छ । आर्थिक वर्ष २०७२/७३ मा एक हजार ८९ बलात्कारको मुद्दा दर्ता भएको छ भने २०७३/७४ मा एक हजार १३१, २०७४/७५ मा एक हजार ४८० मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी दुई हजार २३० र २०७६/७७ मा दुई हजार १४४ मुद्दा दर्ता भएका छन् ।

यसरी हेर्दा पछिल्लो पाँच वर्षको अवधिमा आठ हजार बलात्कारका मुद्दा दर्ता भएका छन् । तथ्यांकले नेपालमा बलात्कारको घटना डरलाग्दोरुपमा बढिरहेको देखिन्छ ।

तर, यस्ता घटनामा गम्भीर बन्नुपर्ने सरकारका गृहमन्त्री भने विकसित राष्ट्रहरुसँग तुलना गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ ।

संसदीय समितिमा बलात्कारीलाई मृत्युदन्डको सजाय हुनुपर्ने धारणा व्यक्त गर्ने सांसदहरुलेसमेत गृहमन्त्रीको यस्तो अभिव्यक्तिमा न त कुनै प्रतिक्रिया दिए, न कुनै आपत्ति नै जनाए ।

सार्वजनिक भेला, संसद र संसदीय समितिमा बलात्कारविरुद्ध चर्को आवाज उठाउने महिला सांसदहरुसमेत गृहमन्त्री थापाको अभिव्यक्तिविरुद्ध उत्रन सकेनन् ।

बलात्कारजस्तो घटनालाई हलुका र गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति राज्यको जिम्मेवार पदमा बस्न नसुहाउने महिला अधिकारकर्मी रेनु अधिकारीको भनाइ छ ।

यसअघि, २०७१ सालको चैत दोस्रो साता तत्कालीन गृहमन्त्री वामदेव गौतमले बलात्कारको घटनाबारे दिएको अभिव्यक्तिको पनि निकै आलोचना भएको थियो ।

महिला हिंसाप्रतिको संवेदशीलतालाई त्यस्ता अभिव्यक्तिहरुले थप चोट पुर्‍याउने गर्छन् ।

यसैलेपनि मुलुकको जिम्मेवार पदमा बस्ने जो कोहीले कुनैपनि अभिव्यक्ति दिँदा विषयको गम्भीरता र संवेनशीलताको हेक्का राख्नुपर्छ ।

भिडियो हेर्नुहोस्