११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


‘नेपाल वायुसेवा निगमको बिजोग बनाउन खोजियो’


0
Shares

काठमाडौं, असोज १५ । सांसदहरुले हिमालय एअरलाइन्सलाई ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी दिएर सरकारले नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा सांसद भीम रावलले थला पर्दै गएको नेपाल वायुसेवा निगमको मुख्य आम्दानीको आयस्रोत बन्द गर्ने काम भएको बताउनुभयो ।

उहाँले ‘सार्वजनिक क्षेत्रलाई बचाउने दायित्व राज्यको छ कि छैन ?’ भनेरपनि प्रश्न गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले सत्ता बचाउनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आयस्रोत खोसिएको बताउनुभयो ।

निगमको आयस्रोतको क्षेत्र ‘ग्राउन्ड ह्यान्डलिङ’ भएपनि सत्ता जोगाउन सरकारले अर्कैलाई जिम्मा लगाउन नहुने उहाँले बताउनुभयो ।

सांसद माधवकुमार नेपालले यसअघि सरकारले निजीकरण गरेका राज्यका विभिन्न संरचनाहरुजस्तै नेपाल वायुसेवा निगमको पनि बिजोग बनाउन खोजिएको बताउनुभयो ।

उहाँले ‘अहिलेको अवस्थामा वायुसेवा निगम र अन्य निजी वायुसेवा कम्पनीहरुको अवस्था हेर्दा निजी सेवाप्रदायकले सधैं मुनाफा कमाउने र सरकारी सेवाप्रदायक सधैं घाटामा जाने अवस्था किन आयो ?’ भन्दै प्रश्न गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हिमाल एअरलाइन्सलाई ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नदिइएको बताउनुभयो ।

समिति सभापति पवित्रा निरौला खरेलले राज्यले सञ्चालन गरेका हरेक क्षेत्रको अवस्था दयनीय बनेको बताउनुभयो ।

राज्यले सञ्चालन गरेका क्षेत्रहरु कमजोर हुने, शिथिल बन्ने, घाटामा जाने गरेको परिपाटीको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।