
सिन्धुपाल्चोक । बाढीपहिरोबाट आक्रान्त सिन्धुपाल्चोकको जोखिम बस्तीको पहिचान, स्थानान्तर तथा आवास व्यवस्थापन सम्बन्धि प्रारम्भिक अध्ययन प्रतिवेदन आज गृहमन्त्री रामबहादुर थापालाई हस्तान्तरण गरिने भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको विषय सरकारलाई जानकारी गराएर कार्यान्वयन गर्न दवाव सिर्जना गर्ने उद्देश्यले प्रतिवेदन हस्तान्तरण गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन र समन्वय समितिको संयक्त प्रयासमा गठन भएको कार्यदलले स्थानीय तहले दिएको सूचना र सुझावका आधारमा प्रारम्भिक प्रतिवेदन तयार गरिएको हो ।
प्रारम्भिक सूचनाका आधारमा प्रतिवेदनमा उल्लेख गरिएका अनुसार जिल्लाका तीन सय ५१ बस्ती जोखिममा छन् । ति मध्ये ६ हजार ५ सय ३१ घरधुरी स्थानान्तर गर्नुपर्ने देखिन्छ ।
प्रतिवेदनमा जोखिम मध्ये पनि कम्तिमा १८ बस्ती अति संवेदनशील रहेको उल्लेख छ ।
समन्वय प्रमुख तामाङका अनुसार कुनै पनि बेला दुर्घटना हुन सक्ने परिस्थितिलाई ख्याल गरेर त्यस्ता बस्ती तत्काल स्थानान्तरण गर्न सिफारिस गरेको छ ।
उक्त प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटालाई सदरमुकाम चौतारामा हिजो नै हस्तान्तरण गरिसकिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले हिजो सदरमुकाम चौतारमा प्रस्तुत गरेको विवरण अनुसार गत असार २२ गतेदेखि भदौं २२ गतेसम्म जिल्लामा बाढीपहिरोबाट ७७ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता छन् ।
बाढीपहिरोले असारयता सवै भन्दा बढी सिन्धुपाल्चोकमा मुलुककै सवैभन्दा बढी मानवीय क्षति भएको छ ।
भौतिक क्षति पनि त्यतिकै भएको छ । सोही क्षतिका आधारमा सिन्धुपाल्चोक र बागलुङलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्