१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


१ लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी


0
Shares

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ ।

बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो ।

कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म वितरण गरिरहेको जनाएको छ ।

बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ ।

कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ ।

आफुहरुले स्वास्थ्य सावधानी अपनाउन लगाउनेभन्दा सेवाग्राही आफैँ पनि सजग हुुनुपर्नेमा उहाँको जोड छ ।

सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ ।

कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र हालका लागि स्थगन गरेको छ ।

कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा स्थगन छ ।

उहाँले प्रदेश सरकारले निर्णय नै गरेर नखुलाउँदासम्म यो सेवा तत्काल नखुल्ने बताउनुभयो ।

काठमाडौँ उपत्यका लगायत प्रदेशभर सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले नयाँ चालक अनुमतिपत्र बन्द गरेको उहाँले जानकारी दिनुभयो ।

केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो ।

काठमाडौँ उपत्यकामा हाल चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ ।