१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फरकरुपले सबल महिलाको जीवनयापन सहज हुनेगरी नीति बनाउन निर्देशन


0
Shares

काठमाडौं, असोज १६ । संसदीय समितिले फरकरुपले सबल अपांगता भएका महिलाहरुको संरक्षण हुनेगरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ ।

कोभिड १९ ले अपांगता भएका महिलाहरुको रोजगारी र आय-आर्जनमा देखिएका समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको हो ।

संसदको महिला तथा सामाजिक समितिले फरकरुपले सबल महिलाको जीवनयापन सहज हुनेगरी नीति बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको सभापति निरुदेवी पालले बताउनुभयो ।

तीनओटै तहले प्रभावकारी समन्वय गरी त्यस्ता महिलाहरुको बृहत्तर हित प्रवर्द्धन र संरक्षण हुनेगरी कोभिड-१९ प्रतिकार्यका काम सम्पादन गर्न समितिले निर्देशन दिएको हो ।

वि.सं. २०६८ को जनगणना अनुसार १.९४ प्रतिशत अपांगता भएका व्यक्तिहरु रहेकोमा कोभिड-१९ का कारण त्यो समूहभित्र पर्ने महिलाहरु बढी प्रभावित भएको समितिको ठहर छ ।

समितिले कोभिड-१९ ले महिलाहरुको दैनिक जीवनयापनमा अवरोध देखापरेकाले अत्यावश्यक सेवा र जनस्वास्थ्य सेवाको नियमित उपलब्धताको सुनिश्चित हुनेगरी नीति बनाउन पनि निर्देशन दिएको छ ।