१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारलाई प्रश्न: के तिमीलाई दुख्दैन ?


26
Shares

नारायणी लामिछाने

विश्वव्यापी फैलिएको छ कोरोना संक्रमण । अनि शासन गर्न व्यस्त तर जनताको पीडामा मौन जस्तै लाग्छ सरकार । यतिबेला हजारौंको रोजगारी गुमेको छ । यही भिडमा केही दयावान र मनकारी व्यक्तिको जमात छ जस्ले खुलामन्चमा खाना ख्वाउँदैछन् । ठाउँमा खल्तीबाट खर्च निकालेर राहत वितरण गरिरहेका छन् । तर मौन अनी शान्त छ सरकार किनकी उसलाई दुखेकै छैन । कोरोना संक्रमण बढिरहेको, कोरोनामै नीजि मेडिकल कलेजले सर्वसाधारणबाट मोटो रकम असुलेको, कोरोनाकै बाहानामा कालोबजारी मौलाएको, विदेशमा रहेका नेपालीको वेवास्त गरिरहेको छ सरकार । यहीबेला सत्यका पक्षधर चिकित्सक डाक्टर गोविन्द केसी ईन्तु न चिन्तु भई टिचिङ अस्पतालमा लडिरहेका छन् । दैनिक बलात्कारका घटना बढिरहेको छ । यो सबै सरकारले देखेको छैन ।

किनकी उस्लाई त काखी च्यापेर कुन पदमा कस्लाई पुर्‍याउने भन्दैमा ठिक्क छ । सरकारको न्याय देख्ने आँँखाहरुमा कालोबजारी र अन्यायको पर्दाहरुले ढाकिएका छन् । किनकी सरकार लकडाउनले शिथिल पारेको अर्थतन्त्रलाई अझै कमजोर बनाउँदै मन्त्रीपरिषद् विस्तार गर्दै मन्त्रालय थप्ने तयारीमा लागेको छ । मन्त्रीमण्डल पुर्नगठनको हेरफेरमा लागेको छ ।

दैनिक एक हजार बढि कोरोना संक्रमितको संख्या पुगिरहेको छ तर यो समयमा ति कोरोना संक्रमितलाई व्यवस्थित गर्ने र भीड व्यवस्थापन गर्ने स्थानिय प्रसाशन केन्द्र सरकारको मुख हेरेर बस्छ । अनि केन्द्र सरकार २५ हजार संक्रमित पुगेपछि लकडाउन गर्ने भन्दै उर्दी जारी गर्दै बस्छ । दैनिक ज्याला मजदुर गर्ने मानिसलाई कोरोना संक्रमण भएको छ । तर बाध्यता उनीहरु आफ्नो परिवारसँग एउटै कोठामा बस्न बाध्य हुन्छन । खै ति बस्ने आईसोलेसन कक्ष ? आफ्नो साना कलिला सन्तानमा कोरोना सर्ने होकी भन्दै रातदिन चिन्ता गर्दै एकै कोठामा बस्न बाध्य छन् श्रमिक । के यी सबै देख्दा तिम्लाई दुख्दैन सरकार ?

एकछाक खान र पेट पाल्नकै लागी खुलामन्चमा दैनिक हजारौंको भिड लाग्ने गरेको छ । तीनलाई खुवाउने केही दयावान व्यक्तित्वहरु छन् । तर तिनैले तिरेको करबाट फुलको गुच्छाको वर्षा गर्दै देशका प्रधानमन्त्रीको आवागमन हुन्छ । अनि ति सर्वसाधारण चुपचाप खाना खान बसेको थालमा हेलिकप्टरबाट बर्सेको फुल हेर्छन । के तिनीहरुको थालमा खाना दिने कर्तव्य बिर्सेको सरकारले उनिहरुकै थालमा फुलको गुच्छा झार्दा थोरै लाज नलागेकै हो ?

खुलामन्चमा खानाको लागि बसेको लाम देखेर भोकै कोही पर्दैन, भोकले कोही मर्दैन भन्ने सरकारको नारा त लजाएन होला नी ? यीनै सर्वसाधारणले तिरेको करबाट हिड्नेहरुको मन किन नदुखेको होला ? कोरोनाको कारण सयौंले ज्यान गुमाएका छन् । नीजि मेडिकलहरुले सरकारको मापदण्ड विपरित मोटो रकम असुल्दैै छन् । सरकारले तोकेको भन्दा दोब्बर बढि रकम असुलेका छन् तर ति व्यापारीलाई खै त कठघरामा ल्याईएको यहाँ त प्याज व्यापारीको कारबाहीमा परिरहेका छन् । आखिर कालोबजारी त नीजि मेडिकलले पनि त गरेका हुन् नी । सरकारले तोकेको भन्दा पनि दोब्बर मुल्यमा सर्वसाधारणले पिसिआर परीक्षण गर्न बाध्य भई सरकारले केही गर्न नसक्दा के तिम्लाई दुखेको छैन र ?

उता वैदेशिक रोजगारीमा गएका रोजगारी गुमाएर महिनौ दिनदेखी उतै अलपत्र परेका नागरिकको हाल उस्तै छ । रोईकराई गरिरहेका छन् । लामो समयदेखी रोजगारी गुमाई भिषा अवधी समेत सकिएर जरिवाना तिरेर बस्न बाध्य भएका छन् । कतिले घरबाट रकम मागेर दैनिक गुजारा टारिरहेका छन् । कतिले घरबाट विदेश गएको ऋण समेत तिर्दा नतिर्दै रोजगारी गुमाएका कारण आत्महत्या समेत गरेका छन् । आफ्ना नागरिक विदेशमा महिनौ दिनसम्म अलपत्र पर्दा चुपचाप छ सरकार । स्वदेश फिर्तीका लागी विदेशमा भएका रुवाबासी सुन्दा के तिम्रो मन दुख्दैन सरकार ?

एउटै माग राखेर सत्यका पक्षधर डा. गोविन्द केसी विगत १८ दिनदेखी आन्दोलनरत छन् । उनको स्वास्थ्य अवस्था कमजोर भईरहेको छ । पटक पटक एउटै माग राखेर अनशन बस्न किन बाध्य पार्छौ सरकार ? सरकार डा. केसीका सच्चा माग पुरा गर्न केले रोकिरहन्छ बारम्बार ? डा. केसीका माग जायज होईनन् भने किन अनशन गर्न दिन्छौ, हो भने किन पटक पटक आन्दोलन गर्न बाध्य पार्छौ ?

दैनिक बढिरहेका बलात्कारका घटनाले घरको गेटबाट आमा, छोरी निस्केपछि परिवारमा एक खालको त्रास सिर्जना हुन्छ । मेरी छोरीलाई कसैले केही नगरोस भन्दै बाबुआमा अत्तालिनु पर्ने अवस्था आएको छ । १४ वर्षीया सम्झना विक, सर्लाहीकी संगिता अनि कन्चपुरकी निर्मलाका आत्माले शान्ती पाउने किसिमको कानुन बन्यो त ? हामी सुरक्षित छौं भन्ने आभाष समेत दिलाउन सरकारको ध्यान नपुगेको देखिन्छ । घरबाट निस्कदा बाबुआमा डरमर्दो अवस्थामा हुनुपर्ने आखिर कहिलेसम्म ?

गत पुसमा अश्रुधारा बगाउँदै आएका उखु किसानले लकडाउनले थलिदा समेत वर्षौदेखीको रकम भुक्तानी पाएका छैनन् । उनीहरुको भोट पाएका जनप्रतिनिधी अर्थात सरकारमा बसेकाहरुको मन किन शान्त होला ? आखिर तिम्लाई किन दुख्दैन सरकार ? देशभर बाढी पहिरो, विपत्ति, भोकमरी, अनिकाल, अन्यायले जनताहरु पिल्सिरहँदा सरकार किन सुन्दैन ? स्थानीय सरकार किन मौन छ ? यी प्रश्नको जवाफ खोइ हामीलाई ? न्याय खोइ ? मानवअधिकार खोइ नेपालीको ?