
प्यूठान, असोज १७ । राजनीतिबाट वाक्क भएका युवा नेताहरु पछिल्लो समय कृषितर्फ आकर्षित भएका छन् ।
कृषिबाटमात्रै सबैखाले परिर्वतन सम्भव हुने देखेपछि उनीहरु जनता झुक्याउने राजनीति नगर्ने भन्दै कृषितर्फ लागेका हुन् ।
प्यूठानको सरुमारानी गाउँपालिका दर्भानका केशवबहादुर गुरुङ ड्रागन खेतीतर्फ लागेका छन् । उनको दैनिकी आफूले लगाएको ड्रागन फ्रुटको स्याहार-सुसारमै व्यस्त रहन्छ ।
नेपालका राजनीतिक दलका नेताहरु विलासितका जीवन बिताइरहेका बेला नेकपा क्रान्तिक्रारी माओवादीका पोलिटब्यूरो सदस्यसमेत रहेका गुरुङ भने ड्रागन फ्रुट खेतीमा लागेका हुन् ।
नेपाली जनताको जीवनस्तर उकास्ने भन्दै राजनीतिमा लागेका नेताहरुले जनताको जीवनस्तर उकास्नुको सट्टा क्रान्तिका नाममा जनतामाथि राजनीति गरेको मेसो पाएपछि उनी भने यतातिर लागेका हुन् ।
कृषिको क्रान्तिकारी परिवर्तन नै पार्टीको विचार भएकाले आफू यतातिर लागेको उनको बुझाइ छ ।
उनले प्यूठान र दाङमा गरी १२ सय रोपनी क्षेत्रफलमा ड्रागन खेती गरेका छन् ।
नेपालका नेताहरुले जनतालाई समृद्ध नेपालको सपना देखाएपनि त्यो नारामै सीमित भएको उनको आरोप छ ।
देशलाई समृद्ध बनाउन कृषि क्रान्ति आशयक भएपनि सरकारले त्यसतर्फ धयान दिन नसकेको उनको भनाइ छ ।
सरकारी अनुदान वास्तविक कृषकलेभन्दा गैरकृषकले पाउने गरेको उनको गुनासो छ ।
राज्यले देशमा आर्थिक क्रान्ति गर्ने हो भने कृषिमा पर्याप्त पूर्वाधार तयार गर्ने, कृषकका लागि बजार, मलको व्यवस्था गर्नुपर्ने तथा युवाशक्तिलाई देशमै रोजगारीका अवसर सिर्जना गर्नसक्यो भनेमात्रै आर्थिक क्रान्ति गर्न सकिने उनको बुझाइ छ ।
कृषि क्रान्ति भनेको देशको आर्थिक, सामाजिक, राजनीतिमा क्रान्ति भएको उनी बताउँछन् । अहिलेको क्रान्ति सामन्ती पुँजीवाद रहेकाले यसको परिवर्तनका लागि नयाँ जनवादी क्रान्तिकारी परिवर्तन आवश्यक छ ।
सरकारले देशमा आर्थिक, सामाजिक रुपान्तरण गर्न कृषि क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार तथा पर्याप्त लगानी गर्न सकेमात्र देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ । जसका लागि राज्यले उचित कृषि नीति ल्याउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्