
काठमाडौं, असोज १७ । मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
संक्रमितमध्ये अहिलेसम्म आठजनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिनुभयो ।
त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका छ संक्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङमा एक/एकजनाको मृत्यु भएको सापकोटाले बताउनुभयो ।
प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको ‘पीसीआर’ परीक्षण भएको थियो । त्यसमध्ये ७०० ‘पोजिटिभ’ भएको र झन्डै २०० उपचारपछि निको भएको जनाइएको छ ।
विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ ।
संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाईसमेत बन्द गरिएको छ ।
आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताउनुभयो ।
शंकास्पद व्यक्तिलाई ‘क्वारेन्टिन’मा राखेर उपचार गर्ने गरिएको छ ।
विभागकाअनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौं, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्