
विराटनगर । विराटनगरमा चक्रपथ निर्माण सुरु भएको दुई दशक वितिसकेको छ ।
तर, अझैसम्म निर्माण सम्पन्न भएको छैन । निजी साझेदारी अवधारणा अनुसार निर्माण सुरु गरिएको भएपनि सरकारी वेवास्थाले चक्रपथ अलपत्र परेको हो ।
हरेक वर्ष बजेट भाषणमा पर्ने गरेको विराटनगर चक्रपथ सडक निर्माण अलपत्र अवस्थामा रहेको हो ।
बजेटमा प्राथमिकतामा परेपनि व्यवहारमा भने चक्रपथ निर्माणले प्राथमिकता पाउन सकेको छैन ।
दुई दशक पहिले सरकारले विराटनगरको यो चक्रपथलाई नमूना आयोजनाका रुपमा निर्माण गर्ने योजना ल्याएको थियो ।
चक्रपथ आसपास एकसय मिटर जग्गा लिएर प्लानिङ गरी नमूना र व्यवस्थित शहर बनाउने सरकारको योजनामा थियो ।
तर, सरकारले ल्याएको योजना अनुसार न त चक्रपथ निर्माण भयो । न त रोकिएका जग्गामा प्लानिङ नै गरियो ?
व्यवस्थित शहरीकरण गर्ने योजना अनुसार काम थालिए पनि ४४ किलोमिटर लामो चक्रपथ दुई दशक वितिसके पनि सम्पन्न भएको छैन ।
अहिले चक्रपथको सबै काम प्रदेश सरकारले हेरी रहेको छ । तर, प्रदेश सरकारले पनि चक्रपथ निर्माणलाई प्राथमिकता दिएको देखिंदैन ।
सरकारले बहुवर्षीय योजनामा राखेर चक्रपथ निर्माणलाई निरन्तरता मात्रै दिएको देखिन्छ । चक्रपथमा कतै ग्राभेल, कतै पीच र कतै धुलाम्मे सडक छ ।
निर्माण गरिएको सडक भत्किएर सवारी चलाउनै नसक्ने अवस्थामा पुगेको छ ।
यता जग्गा धनिहरू भने आफ्नो जग्गा बर्षौदेखि सरकारले हडपेको गुनासो गर्दै आएकाछन् ।
सरकारले जग्गा लिएर चक्रपथ पनि नबनाएको र प्लटिङ गरेर घडेरी प्लानिङ पनि नगरेको उनीहरूको गुनासो छ ।
उनीहरुले सरकारले दिएको आश्वासन अनुसार चक्रपथ निर्माण गर्न माग गरेका छन् ।
यता पूर्वाधार विकास कार्यलय मोरङले सरकारले बार्षिक रुपमा थोरै बजेट विनियोजन गरेका कारण चक्रपथ निर्माणको काम अगाडि बढ्न नसकेको जनाएको छ ।
कार्यालयका प्रमुख सुशिल श्रेष्ठले प्रयाप्त बजेट विनियोजन नगरेसम्म चक्रपथको कामले गति लिने अवस्था नरहेको बताउनुभयो ।
उहाँले प्रदेश मातहत आयोजना हस्तान्तरण भएपछिको दुई वर्षमा पहिलो वर्ष ५० लाख र गत आर्थिक वर्षमा ३ करोड रुपैयाँको काम गरिएको जानकारी दिनुभयो ।
विराटनगरको चक्रपथ सम्पन्न गर्न करिब १० अर्ब बजेट लाग्ने भए पनि सरकारले हरेक वर्ष दुई चार करोड मात्र बजेट विनियोजन गरेर झारो टार्ने काम मात्रै गरिरहेको छ ।
चक्रपथ निर्माण गर्न र चक्रपथ आसपासका क्षेत्रमा शहरी पूर्वाधारको विकास गर्न सरकारले प्रयाप्त बजेट विनियोजन गरे चक्रपथ निर्माणको कामले गति पाउने थियो ।
प्रतिक्रिया दिनुहोस्