
काठमाडौं । जोर्डनका राजा अब्दुल्ला द्वितीयले प्रधानमन्त्री ओमर रज्जाजको राजीनामा स्वीकृत गर्नुभएको छ ।
यद्यपि नयाँ मन्त्रिपरिषद गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा सेवा गर्ने जिम्मेवारी भने उहाँले रज्जाजलाई नै दिनुभएको छ ।
जोर्डनी राजाले प्रधानमन्त्री रज्जाजलाई एउटा पत्रमार्फत् राजीनामा स्वीकृत भएको जानकारी गराउनुभएको हो ।
विशेष गरी राज्यका संस्थाहरूमा एकीकृत प्रयासको माध्यमबाट कोभिड–१९ महामारी नियन्त्रणका उपाय अवलम्वन योजना र कार्यक्रमका लागि राजा अब्दुल्लाले सरकारको प्रशंसा गर्नु भएको ‘रोयल हासेमाइट कोर्ट’ ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
योजना र कार्यक्रम तय गर्ने र प्राथमिकताहरू कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रयासका बाबजुद कोभिड–१९ नियन्त्रणका क्रममा देखिएका कमजोरीलाई दिनप्रतिदिन सुधार गर्नु आजको आवश्यकता हुने पनि पत्रमा भनिएको छ ।
राजीनामा पत्रमा प्रधानमन्त्री रज्जाजले आफ्नोे सरकार कठिन समयमा पनि जनता र राष्ट्रको हितमा कामगर्न सफल भएको तर काम गर्ने शिलशिलामा गल्ती पनि भएका भए यसको जिम्मेवारी लिँदै पदबाट हट्ने बताउनुभएको थियो ।
रज्जाजले कोभिड–१९ले उहाँको मन्त्रीपरिषद्को २०२० प्राथमिकतामा असर पारेको तर यो सवै जनस्वास्थ्यको रक्षा जनताको हितमा भएको राजिनामा पत्रमा उल्लेख गर्नुभएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्