
काठमाडौं । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आज(सोमबार)देखि छलफल शुरु हुँदैछ ।
प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।
यसरी छलफल र प्रस्ताव पेश गर्नका लागि प्रदेशसभाले तीन दिनको समय राख्ने गरी तयारी गरेको छ ।
सोमबार र मङ्गलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेश गर्ने तयारी सदनको छ ।
प्रदेशसभा राजधानीसम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरी आन्तरिक तयारीमा जुटेको छ ।
कार्यविधिअनुसार संशोधन प्रस्ताव र सांसदले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने भन्ने तय हुने छ ।
राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेशसभाले राजधानी र नामकरण टुङ्ग्याउने छ ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रस्तावका पक्षमा दुई तिहाई नपुगेका खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान हुनेछ ।
मतदानका लागि सम्पूर्ण तयारी गरिएको छ । प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेश गर्नका लागि १८ घण्टाको समय निर्धारण गरिएको छ ।
यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो ।
प्रस्तावमाथि छलफल समाप्त भएको १८ घण्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यले संशोधन पेश गरिसक्नुपर्ने नियम बनाइएको छ ।
सामान्यतया विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय दिइने प्रचलन भए पनि सभामुखले अधिकार प्रयोग गर्दै १८ घण्टाको मात्रै समय दिनुभएको छ ।
प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ ।
संविधानले प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ ।
एकसठ्ठी सांसद रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्