
काठमाडौं, असोज १९ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।
पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबार स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
पशुपति क्षेत्रको विकासको नाममा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनाश गर्नेगरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप छ ।
पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरुयोजनाको विरुद्धमा आन्दोलन सुरु गरिएको बताउनुभयो ।
गुरुयोजनाले स्थानीय धार्मिक, सामाजिक, साँस्कृतिक सम्पदा नष्ट गर्ने भएकाले त्यसको जगेर्नाका लागि गुरुयोजना खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रनुपरेको संगतले बताउनुभयो ।
उहाँले पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको चार किल्लाभित्र बसोबास गर्दै आएका पुरानो बस्तीलाई विस्थापित गर्ने र जात्रा-पर्वहरुको विनाश गरी व्यापारीकरण गर्न लागेको बताउनुभयो ।
काठमाडौं महानगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष दिनेश सिंह डंगोलले कोषले स्थानीय बासिन्दा र स्थानीय निकायहरुसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको बताउनुभयो ।
उहाँलेपनि यस क्षेत्रको धर्म, संस्कृति, जात्रा, पर्वको विनाश हुनेगरी गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताउनुभयो ।
कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ ।
कोषले तयार पारेको १०० वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।
कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो भने २०५८ सालदेखि लागू भएको थियो ।
पुरानो योजनाको समीक्षा नगरिकन नयाँ गुरुयोजना तयार पारिएकाले पनि विरोध गर्नुपरेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्