१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धनगढीमा सुपथ मूल्य पसल, उपभोक्ता हर्षित


0
Shares

कैलाली, असोज १९ । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

आउँदो मंसिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित भएका छन् ।

सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

काठमाडौं उपत्यकामात्रै नभएर देशका प्रमुख सहरहरुमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् ।

बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य वस्तु किन्न पाउँदा उपभोक्ता हर्षित भएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहकार्य गरेर सुपथ पसल सञ्चालन गरिरहेका छन् ।

सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजरलगायतका सामग्री बिक्री-वितरण भइरहेका छन् ।

पसलमा चिनी प्रतिकिलो ७० र नुन प्रतिकिलो १८ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । बाहिरको दरभन्दा चिनी किलोमा १० र नुनमा दुई रुपैयाँ छुट गरिएको छ ।

सुपथ मूल्य पसलबाट उपभोक्ताले सामान किन्नेमात्रै नभएर बेच्नेपनि गरेको साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले बताउनुभयो ।

चाडपर्वको समयमा सुपथ मूल्य पसलमा मालसमानको अभाव हुन नदिन उचित व्यवस्थापन गरिएको खाद्य संस्थान धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले बताउनुभयो ।

यो वर्ष सुदूरपश्चिम प्रदेशका अरु जिल्लाहरुमा भने सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन ।

विगतमा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दिपायललगायतका स्थानमा यस्ता पसल सञ्चालनमा ल्याइएको थियो ।

यो वर्ष भने ‘अनलाइन बिलिङ सिस्टम’ भएपछि अरु स्थानमा पसल सञ्चालनमा आउन सकेको छैन ।