
चितवन, असोज १९ । आज विश्व शिक्षक दिवस । एकापसमा खुसी साटासाट गर्दै दिवस मनाउनुपर्ने हो ।
तर, सात महिनादेखि आफ्नो ज्यालासमेत नपाएका शिक्षकहरुलाई खुसीको त परैको कुरा चाडपर्व नजिकिँदै गर्दा चाड कसरी टार्ने भन्ने पिरलोले उल्टै तड्पाएको छ ।
चितवन, भरतपुरका इन्द्रनारायण श्रेष्ठको दैनिकी नियमित विद्यालय सञ्चालन भएकोजस्तै छ ।
‘लकडाउन’का कारण विद्यालयमा भौतिक उपस्थिति नभएपनि ‘जुम’ प्रविधिबाटै उहाँले कक्षा लिइरहनुभएको छ । विद्यार्थीलाई पढ्नबाट वन्चित हुन नदिन उहाँ मैनबत्तीझैं जलिरहनुभएको छ ।
तर, उहाँ जलिरहेको नदेख्ने निजी विद्यालय सञ्चालकले वैशाखदेखि उहाँको हातमा ज्यालाको नाममा जम्मा-जम्मी आठ हजार रुपैयाँ हातपरेको छ ।
काम लगाएर पनि ज्याला नदिँदा ठूला चाडपर्व नजिक आउँदा उहाँको मन आत्तिएको छ । किनकि, परिवार नै उहाँको भरमा छ ।
निजी विद्यालयमा कार्यरत् शोभा बास्तोलाले वैशाख र जेठ महिनाको २५ प्रतिशतका दरले तलब त पाउनुभयो तर त्यतिले न गर्जो टरेको छ, न कुनै मेलो सरेको छ । खटाइ भने दिन र रात नभनी छ ।
चितवनको भरतपुर महानगर क्षेत्रका केही निजी विद्यालयले नियमित तलब दिएपनि अधिकांशले अटेर गरेका छन् ।
इष्टु महानगर संयोजक विष्णु पोखरेलले सरकार नै निकम्मा हुँदा ज्यान फालेर परिश्रम उधारोमा बिक्री गर्न बाध्य भएको गुनासो गर्नुभयो ।
दैनिकी त जेनतेन चलेको छ तर दसैंलगायतका पर्व नजिकिँदै गर्दा उहाँको मन खिन्न छ ।
इष्टु चितवनका उपाध्यक्ष दिवाकर पौडेल वैशाखदेखि नै अनलाइन कक्षामा निरन्तर खटिएका शिक्षकलाई पारिश्रमिक दिनुपर्ने बताउनुहुन्छ ।
पहिलो चरणको आन्दोलनले चैतसम्मको पारिश्रमिक भुक्तान भएको तर अझैपनि २८ ओटा निजी विद्यालयले चैतदेखिकै र बाँकीले वैशाखदेखिको पारिश्रमिक नदिँदा तमाम शिक्षकहरु मारमा परेका छन् ।
चितवनमा १५४ ओटा निजी विद्यालय प्याब्सनमा आवद्ध भएपनि कुनैले पनि शिक्षकका माग पूरा गरेका छैनन् ।
त्यसैले यो विश्व शिक्षक दिवसकै दिनदेखि सबै शिक्षकले शिक्षा क्षेत्रलाई अपनत्व गर्नेसक्ने वातावरण सबैले सृजना गर्नु जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्