
काठमाडौं, असोज १९ । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताउनुभएको छ ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोमबार भएको छलफलमा थापाले महिला हिंसा र बलात्कार घटनाका विषयमा अभिव्यक्ति दिँदा सजगता अपनाउने प्रतिबद्धता जनाउनुभयो ।
गृहमन्त्री थापाले गएको बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा विश्वका २०० बढी मुलुकको तथ्यांक विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको बताउनुभएको थियो ।
सोमबार समितिको छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोना महामारी सुरु भएपछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताउनुभयो ।
विगत वर्षहरुको तथ्यांक हेर्दा यो वर्ष घटनाहरु बढ्नसक्ने उहाँले बताउनुभयो ।
सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनीकरणका लागि शून्य सहनशीलताको नीति अपनाएर अघि बढेको गृहमन्त्री थापाको भनाइ थियो ।
सांसदहरुले उत्पीडित वर्गले बलात्कारजस्तो जघन्य घटनामा न्याय पाउन नसेकेको भन्दै प्रहरीले सहयोग नगरेको गुनासो गरेका थिए ।
पीडित महिला आफैं उजुरी दिन जाँदा पनि प्रहरीले उजुरी नलिने गरेको सांसदहरुको गुनासो थियो ।
गृहमन्त्री थापाले महिला हिंसाका घटना न्यूनीकरणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्