
काठमाडौं । दुई पटक स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज(मंगलबार) बस्ने भएको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको दाहालको सचिवालयले जनाएको छ ।
बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिने सम्भावना रहेको छ ।
अर्थमन्त्रीको रुपमा ओलीका विश्वासपात्र विष्णु पौडेल नियुक्त हुने अधिक संभावना रहेको पनि स्रोतले जनाएको छ ।
प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने र बुटवलका नेता एवं पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई अर्थमन्त्री बनाउन सहमति भएको बताइन्छ ।
यसैगरी रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जनार्दन शर्मा र सहरी विकास मन्त्रालयमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न लागिएको बुझिएको छ ।
सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो ।
तर, यहिबीचमा प्रधानमन्त्रीका ४ सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठकपनि स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्