
काठमाडौं । नवलपुर देवचुली ९ बिशालटारका बिष्णु भुसाल कागती उत्पादनका लागि धेरैको प्रेरणाको स्रोत बनेका छन् ।
पेशाले सरकारी कर्मचारी उनी कागती फार्मको क्षेत्रफल पाँच कठ्ठाबाट बढाएर दुई बिगा भन्दाबढी बनाउने तयारीमा जुटेका छन् । बैकल्पिक पेशाका रुपमा यसलाई थप बिस्तार गर्न उनी खटिएका हुन । कार्यालय समय बाहेकको समय उनले कागतीका बोट गोडमेलमा बिताउने गरेको बताए ।
तराई क्षेत्रमा सहजै लगाउन सकिने सुन प्रजातिको कागती हप्तामा एकपटक टिप्न सकिन्छ । पाँच कट्टामा एकपटकमा एक क्विन्टलसम्म फल टिप्न सकिने भुसालको अनुभव छ । यो प्रजाती एउटा बोटमा तीन हजार गोटासम्म फल्न सक्छ ।
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उनी कसरी कागतीको व्यवसायिक खेती गर्न सकिन्छ भनेर युवाहरुलाई कृषिमा आकर्षित गर्ने प्रेरणाका स्रोत बनेका छन् । कागतीको बिरुवा रोपेको तीन वर्षसम्म फल लाग्न नदिई बोटको उचाई बढाउनुपर्ने कृषि बिज्ञको सुझावलाई उनले पनि अनुसरण गरेका छन् ।
बिरुवा तीनवर्ष भएपछि भने फल लाग्न दिनुपर्ने उनको अनुभव छ । अहिले भुसालले कागती फार्ममा मेवा, साग, खुर्सानी लगाएतका फलफुल तरकारी लगाएका छन् । कागती फार्म भित्र लहरे बाहेकका अन्य तरकारी भने फलाउन सकिने उनले जानकारी दिए । ‘तीन बर्षसम्म फूलमा फल लाग्न नदिन फूट टिप्नुपर्छ । सकेसम्म लहरे तरकारी कागतीको बोटसंगै रोप्नु हुदैंन । यसले कागतीका बिरुवा बढ्न दिदैन’ उनको अनुभव छ ।
कागतीमा फल लागेर टिप्न उपयुक्त छ छैन हेरेर बर्षातको समय बाहेकको समयमा फल टिप्न सकिन्छ । कागतीका बोटलाई चाहिने मल पनि हुने र बाली भित्र भएको झार पनि सफा हुने भएकाले केहि लोक्कल कुखुराहरु पनि उनले पालेका छन् । मौसमी र बेमौसमी फल लाग्ने हुँदा असार–भाद्रसम्म मुख्य बाली हुन्छ तर तराईमा भने बर्षभरी नै फल दिनसक्छ । पूर्व देखी पश्चिमसम्मको तराई र मध्य पहाडी क्षेत्रमा यसको खेती गर्न सकिन्छ ।
आम्दानी बिस्तारै बढ्दै गएपछि परिवारका सदस्य र नजिकका आफन्तहरु पनि यो पेशा प्रति आर्कषित भएको र व्यवसायलाई बढाउन सामुहिक हातेमालो गर्दै उनी अघि बढेका हुन । फेमली फार्ममा उत्पादन भएका तरकारी जिल्ला भित्रका तरकारी बजारमा पुग्छन् व्यापारीहरु फार्ममा नै उत्पादन लिन आईपुग्छन् ।
‘कागती उत्पादन गर्न कठिन छैन, रामपुर क्याम्पसका कृषि बिज्ञ साथीहरुले दिएको सुझावलाई व्यवसायको रुपमा अघि बढाउन पाउँदा खुशी छु । अन्य युवाहरुले पनि कागती उत्पादनमा उत्साह देखाएका छन’, भुसालले अनुभव सुनाए । अहिले उत्पान सुरु गर्ने चाहनेलाई सजिलो छ कृषि विज्ञको सल्लाह अनुसार कागतीको व्यवसायीक खेती गर्न सकिने उनले बताए ।
कृषिलाई निर्बाहमूखी नभइ व्यवसायिक रुपमा अघि बढाउन सके यसले मुलुकलाई समृद्ध बनाउने उनको बुझाइ छ । व्यवसायिक कृषि खेतीका लागी स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले युवालाई उत्पादन तर्फ प्रोत्साहित गर्नेसके रोजगारीका लागि बिदेशिने युवालाई स्वदेशमै राख्न सकिने उनको भनाई छ ।
राष्ट्रसेवक कर्मचारी भएपनि आफ्नो धरातल र परम्परागत सिकाइलाई प्रबिधीमैत्री बनाएर अघि बढ्ने भुषालको सोच छ । वर्षेनी करोडौं मुल्य बराबरको कागती छिमेकी देशबाट नेपाल भित्रिने गरेको छ । देशमा नै प्रशस्त कागती उत्पादन गर्नसके परनिर्भरता कम गर्न सकिने उनले बताए ।
कोरोनाका कारण प्रभावित भएका किसानहरुलाई सम्बोधन गर्दै उनले थप योजनाहरु समेत अघि सारेका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नवलपुर जिल्लालाई सुन्तला जोन घोषण गरिएको छ ।
उनकै नेतृत्वमा हाल जिल्लामा सिचाइ, ल्याण्ड बैंकको अवधारणा अनुरुप काम अघि बढेका छन । किसानलाई आत्मनिर्भर, व्यवसायी बनाउन अन्य धेरैं युवामा उत्साह थप्न भुसालले यो कामलाई थप उचाइमा पुर्याउने अठोट गरेका छन ।
अहिले फेमली फार्ममा दर्जनौं समुहहरु अवलोकनका लागी पुग्ने गरेका छन् । नगरपालिकाले युवाहरु कागती उत्पादनमा आर्कर्षित भएपछि तीन दिने तालिम समेत दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्