१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ढोरपाटन बाढी पहिरो पीडितले ५० हजार रुपैयाँका दरले पाए सरकारी राहत


0
Shares

बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरा पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ ।

ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ परिवार र बेपत्ता रहेका १५ परिवार गरि ३७ जनाको परिवारलाई प्रति मृतक÷वेपत्ता ५० हजार रुपैयाँका दरले गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको हो ।

त्यस्तै गत असार र साउनमा आएका पहिरामा परी मृत्यु भएका निसीखोला र तमान खोला गाउँपालिकाका ५ परिवारका लागि पनि राहत रकम उपलब्ध गराइएको छ ।

गण्डकी प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत रकम प्रदान गर्नुभएको हो ।

जिल्लाको पश्चिमका ४२ परिवारका लागि प्रदेश सरकारले २१ लाख रुपैयाँ उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनभयो ।

ढोरपाटनको बोबाङमा पहिरोसँगै आएको बाढीका कारण घरगोठ पुरिँदा बेपत्ता भएका मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै बेपत्ता छन् ।

ढोरपाटनले मृतक र बेपत्ताको तथ्यांक समयमा उपलब्ध गराउन नसकेका कारण पीडितलाई राहत वितरणमा ढिलाई भएको थियो ।

ढोरपाटनमा पुनस्थापनाको लागि प्रदेश सरकारले आवश्यक काम थालिसकेको जनाउँदै उहाँले स्थानीयसँग मिलेर बस्ति बसाउने काममा लाग्ने बताउनुभयो ।

ढोरपाटनमा बाढीपहिरोमा १ सय ३० घर विस्थापित भएका छन् ।