
काठमाडौं । कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । मोरङ, चितवन, धरान र नवलपुरमा गरी थप ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङका २ जना पुरुष, चितवन र धरानका एक-एक पुरुष र नवलपुरकी महिला रहेकी छिन् । महिलाको गएराति मृत्यु भएको हो भने पुरुषहरुको आज विहान मृत्यु भएको हो ।
मृत्यु भएका सबैजना दिर्घरोगी रहेको अस्पतालहरुले जनाएका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा आज विहान एक पुरुषको सङ्क्रणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले जानकारी दिनुभयो ।
मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी, चितवन मेडिकल कलेजमा उपचाररत दुई संक्रमितको पनि आजै मृत्यु भएको छ ।
नवलपुर कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पताल भर्ना भएका थिए ।
यसैगरी, भरतपुर महानगरपालिका ३ का ७० वर्षीय अर्का एक पुरुषको पनि गएराति निधन भएको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भै अस्पताल ल्याइएका उनमा पनि मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।
यो संगै मुलुकमा कोरोनाबाट ज्यान जानेको संख्या ५ सय ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले हिजो कोरोनाका कारण १९ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
हिजो २ हजार ४ सय ४० नयाँ संक्रमित थपिंदा सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्