
काठमाडौं, असोज २० । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद भवनको निर्माणकार्य सन्तोषजनक रहेको बताउनुभएको छ ।
सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद भवन निर्माणमा कोभिड-१९ ले आंशिक प्रभाव परेपनि कार्यप्रगति सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।
मंगलबार संसद भवन निर्माणकार्यको स्थलगत अनुगमनपछि अध्यक्ष तिमिल्सिनाले कोरोनाले देशभरि विकास निर्माणलगायत अन्य क्षेत्रमा गरेको असरको तुलनामा काम सन्तोषजनक रहेको बताउनुभयो ।
उहाँले समयभन्दा अगाडि नै निर्माण सम्पन्न गर्न तीन ‘सिफ्ट’मा २४ घन्टा नै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
आयोजना प्रमुख दिलिप भण्डारीले तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको आयोजनाको निर्माणमा कोभिड-१९ का कारण केही प्रभाव परेको बताउनुभयो ।
बर्खा र कोभिडका कारण समस्या भएकाले लक्ष्यअनुसार प्रगति नभएपनि तोकिएको समयभन्दा अगाडि नै निर्माणकार्य सम्पन्न गर्न तीन सिफ्टमा काम गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
आयोजना निर्माणको एक वर्षमा २० प्रतिशत भौतिक काम हुनुपर्नेमा अहिले लक्ष्यअनुसार काम हुनसकेको छैन ।
यस्तो बन्नेछ
परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्नेछ ।
साथै, करिब ३०० जना अट्ने सुरक्षाकर्मीहरुका लागि भवन छुट्टा-छुट्टै पनि निर्माण गरिनेछ ।
छुट्टा-छुट्टै भवन निर्माण गरिएपनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुईओटै संसदका सदस्यहरू अटाउनेखालको एउटा हलसमेत निर्माण गरिनेछ ।
परिसरमा ‘भीभीआईपी’, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुट्टा-छुट्टै प्रवेशद्धार निर्माण हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्