
कैलाली, असोज २० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरूलाई जरिवनामात्र नभइ कैद सजाय गर्ने बताउनुभएको छ ।
मंगलबार धनगढीमा प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले पछिल्लो समय कालोबजारी बढ्दै गएको बताउँदै कालोबजारी गर्नेलाई कैद सजाय गर्ने बताउनुभएको हो ।
बजार अनुगमन दसैं-तिहारमा मात्रै नभएर निरन्तर चलिरहने भन्दै उहाँले कालोबजारीयाहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
मन्त्री भट्टले बाहिरबाट आयात हुने खाद्यान्न, दाललगायतका वस्तुहरूमा केही मूल्य बढेको बताउनुभयो ।
‘लकडाउन’का कारण अर्थतन्त्र र रोजगारीमा समस्या सिर्जना भएको बताउँदै उहाँले इँटाभट्टीहरुमा अधिकांश भारतीय कामदार रहेकोले त्यहाँ नेपाली कामदारलाई काम दिनुपर्ने बताउनुभयो ।
कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, धनगढी-अत्तरिया कोरिडोर स्थापना गर्ने र अर्थतन्त्रले भ्याएसम्म विभिन्न ठाउँमा औद्योगिक क्षेत्रहरू स्थापना गर्दै लैजाने उहाँको भनाइ छ ।
मन्त्री भट्टले बैतडीको दोगडाकेदारमा फस्फोराइड उत्खनन्का लागि ‘ड्रिलिङ’ थालिएको जानकारी दिनुभयो ।
मलखादमा प्रयोग हुने फस्फोराइडको परीक्षण सफल भए कैलालीमा उद्योग स्थापना गरिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्