
बारा, असोज २० । बाराको जितपुर सिमरा उपमहानगरपालिकाले एक महिनामै सम्पन्न गरेको योजनाको रकम भुक्तानी रोकिएको छ ।
बर्खे योजनाको १४ करोड रुपैयाँ अनियमितता र अपारदर्शी भएको भन्दै भुक्तानी रोकिएको हो ।
भुक्तानी रोकिएपछि निकासाका लागि विभिन्न राजनीतिक दलले दबाब दिन थालेका छन् ।
जेठ मसान्तभित्र कार्यान्वयन भइसक्नुपर्ने योजना उपमहानगरले कानुनी व्यवस्थालाई उल्लंघन गरी गत आर्थिक वर्षको असार १५ गतेपछि कार्यादेश दिएको थियो ।
साउनको तेस्रो सातामा एकैपटक सयौं योजना सम्पन्न गरेको फाइल भुक्तानीका लागि आएपछि प्रमुख प्रशासकीय अधिकृतले अपारदर्शी भएको भन्दै भुक्तानी रोक्नुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाले एकैपटक सयौं सम्पन्न योजनाको तयारी फाइल आफूले नहेरी भुक्तानी नगर्ने अडान लिनुभएको छ ।
उपप्रमुख सरस्वती चौधरीले भएका राम्रा कामको भुक्तानी दिनुपर्ने र अपारदर्शी योजनाको भुक्तानी रोक्नुपर्ने बताउनुभयो ।
उपभोक्ताको नाममा अधिकांश योजना ठेकेदार, जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भएपछि सबै योजनाको अनुगमनसमेत भइनसक्दा भुक्तानीका लागि फाइल पेस गरेपछि अनियमितता भएको शंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्