
काठमाडौं, असोज २१ । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाइ घेराउ गरेका छन् ।
पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोधअन्तर्गत् बुधबार कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाइ घेराउ गरेका हुन् ।
स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाममा परापूर्वकालदेखिको बस्ती मास्ने र पशुपति क्षेत्रभित्रको स्थानीय संस्कृति तथा जात्राको विनास गर्नेगरी गुरुयोजना ल्याइएको आरोप लगाएका छन् ।
पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्रभित्र रहेका १४० पर्व र ४० ओटाभन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताउनुभयो ।
कोषले ल्याएको गुरुयोजनाको खारेजीको माग गर्दै आफूहरुले दोस्रो चरणको विरोधस्वरुप बुधबार कोषको कार्यालय घेराउ गरिएको उहाँले बताउनुभयो ।
वागमती प्रदेशका प्रदेश सांसद नरोत्तम वैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेकोजस्तो नाटक गरिरहेको बताउनुभयो ।
तर, सरकारले स्थानीयका कुनैपनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको उहाँले बताउनुभयो ।
उहाँले खासगरी स्थानीयले गुरुयोजना खारेज गर्नुका साथै कोष नै खारेज गरी काठमाडौं महानगरपालिकाअन्तर्गत् ल्याउन माग गरेको बताउनुभयो ।
तर, सरकार संवेदनशील नबन्दा संक्रमणको जोखिको अवस्थाकाबीच पनि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो ।
कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको स्थानीयहरुले बताएका छन् ।
स्थानीय बस्ती हट्नेभन्दा पनि पशुपति क्षेत्रभित्रका जात्रा, पर्वहरुको विनास हुने चिन्तामा आफूहरु रहेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्