१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यूठानमा खरको छाना विस्थापित अभियान


0
Shares

प्यूठान, असोज २१ । प्यूठानमा खरको छाना विस्थापित गर्ने अभियान थालिएको छ ।

यहाँका स्थानीय तहहरुले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने अभियान थालेका हुन् ।

लामो समयदेखि खरको छानामुनि बसेका परिवारलाई स्थानीय तहहरुले जस्तापाता उपलब्ध गराएपछि विपन्न परिवारमा खुसी छाएको छ ।

प्यूठानको गौमुखी गाउँपालिका-३, रजवाराका मीना मल्लको घर खरले छाएको थियो । पहिले खरको छाना हुँदा पानी घरभित्रै पस्ने समस्या थियो । पानीपर्दा छानो चुहिएर आधा रातमा उठेर भाँडा थाप्नु पर्थ्यो ।

गाउँपालिकाले जस्तापाता दिएपछि अहिले उनको घरमा रातो जस्तापाता टलक्कै टल्किएको देख्न सकिन्छ ।

बर्खायामको समयमा पानी पर्दा निन्द्रा भंग हुने अहिले भने उनी ढुक्कसँग निदाउन पाएकी छन् ।

गाउँपालिकाले निर्वाचन भएलगत्तै जिल्लामै पहिलो तथा प्रदेश नम्बर-५ कै खरको छाना विस्थापन गर्ने दोस्रो गाउँपालिकाको रुपमा योजना अघि सारेसँगै जस्तापाता दिन थालेपछि विष्णुमात्र होइन, पालिकाभित्रका सबै विपन्न परिवारमा खुसी छाएको छ ।

गौमुखी गाउँपालिका-५, खुङ्गका रेगम पुरीले पनि वर्षौंदेखि खरको छाना रहेको घरमा पालिकाले सहयोग गरेपछि जस्तापाता लगाउनुभएको छ ।

घरका छाना विस्थापन गर्ने नीति स्थानीयले लिएसँगै अहिले टिनको छाना टलल्ल टल्किँदा गाउँघर नै उज्यालो झैं देखिन्छ ।

गाउँपालिकाले गरिब तथा विपन्न परिवारका लागि जस्तापाता दिन थालेपछि गाउँघरमा आगलागीको डरसमेत कम हुने र प्रत्येक वर्ष घर छाउनुपर्ने झन्झटको पनि अन्त्य भएको छ ।

गौमुखी गाउँपालिकाले नयाँ घर बनाएर छानो हाल्न नसकेका तथा घर चुहिएर बस्न नमिल्ने अवस्थाका परिवारलाई ७५ सालदेखि वडाको सिफारिसमा जस्तापाता वितरण सुरु गरेपनि प्रभावकारी भएको थिएन ।

गाउँपालिकाबाट प्रतिघर ४० हजार रुपैयाँ लगानीमा जस्तापाता लगाइएको छ । पालिकाले हालसम्म गरिब तथा अतिविपन्न १५ सय ८५ घरधुरीलाई निःशुल्क जस्तापाता उपलब्ध गराएको छ ।

छ करोड रुपैयाँ लागतमा गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तभित्र गाउँपालिकाका सातओटै वडामा रहेका अधिकांश खरको छाना विस्थापन गरी जस्तापाता लगाएर सकिएको गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले बताउनुभयो ।

गाउँपालिकाले गरिब जनताको आँशु पुछ्न विकास निर्माणको काम छोडेर पनि विपन्न जनताको घर छाउने अभियानलाई अगाडि बढाएपछि स्थानीयले सिंहदरबारको शासन जनताकोे घरदैलोमा आएको हो झैं महसुस गर्न थालेका छन् ।