
काठमाडौं, असोज २१ । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी मन्त्रालयमा पेस गरेको छ ।
बोर्डका सहअध्यक्ष दक्ष पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकमारी अर्याललाई बुधबार उक्त योजना बुझाउनुभएको हो ।
सो अवसरमा सहअध्यक्ष पौडेलले सहकारीको विकासक्रम, नेपालमा सहकारीको समग्र अवस्था, विषयगत सहकारी संस्थाको विद्यमान अवस्था, सहकारीका सबल पक्ष तथा सम्भावनाहरु समावेश गरेर रणनीति तयार पारिएको बताउनुभयो ।
सहकारी क्षेत्रको आर्थिक विश्लेषण र प्रक्षेपण, अर्थतन्त्रमा सहकारीको योगदान तथा अन्तर्राष्ट्रिय अनुभव, विश्व अर्थतन्त्रमा सहकारीको योगदान, मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान, सहकारीका प्रमुख सूचकहरुको प्रक्षेपण र रणनीतिक योजना हासिल गर्ने लक्ष्य प्रस्तावित योजनामा रहेको उहाँले बताउनुभयो ।
मन्त्री अर्यालले सहकारी अभियानको विकास र सुदृढीकरणका लागि बोर्डले तयार पारेको २५ वर्षे रणनीतिक योजना महत्वपूर्ण हुने बताउनुभयो ।
सहकारी क्षेत्रको सबल पक्ष, समग्र सहकारी क्षेत्रको विष्लेषण र अन्तर्राष्ट्रिय अभ्याससहितका विषयहरु समेटिएकाले देशको अर्थतन्त्रका लागि रणनीतिक योजना महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
रणनीतिक योजनाले उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने, असल सहकारी अभ्यास, सुशासन र नियमन अवलम्बन गर्नेलगायतका विषयलाई रणनीतिक स्तम्भको रुपमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्