
काठमाडौं, असोज २१ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५,००७ पुगेको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले यसअघि नै सक्रिय संक्रमित २५ हजार पुगे स्वतः ‘लकडाउन’ गरिने अवस्था आउनसक्ने जनाएको थियो ।
सक्रिय संक्रमितमध्ये १४,४११ ‘होम आइसोलेसन’मा र १०,५९६ संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
उच्च संख्या
पछिल्लो २४ घन्टामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी ३,४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १,६८४ जना रहेका छन् । काठमाडौं जिल्लामा मात्रै १,२९६ जना संक्रमित थपिएका छन् । ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घन्टामा मोरङमा ३२२, सुनसरीमा १९३, चितवनमा १३१, रुपन्देहीमा १३०, बाँकेमा १०६, मकवानपुरमा ९९, सुर्खेतमा ७८, काभ्रेमा ५१, दार्चुलामा ४८ जनामा संक्रमण पुष्टि भएको छ । ६५ जिल्लामा ३,४३९ जना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या ९४,२५३ पुगेको छ ।
थप १,१२६ ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभरबाट १,१२६ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६८,६६८ पुगेको मन्त्रालयले जनाएको छ ।
थप १५ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा १५ जनाको मृत्यु पुष्टि भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ४५ देखि ७२ वर्षसम्मका चार पुरुष र दुई महिला गरी छजना रहेका छन् ।
यस्तै, मोरङका दुई पुरुष, ललितपुर, चितवन, रुपन्देही र नवलपरासीका एक/एकजना पुरुष तथा सिरहा, रौतहट र दाङका एक/एकजना महिलाको संक्रमणका कारण मृत्यु भएको छ । उनीहरु ४० देखि ७६ वर्षसम्मका थिए ।
योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।
थप १४,२०९ नमुना परीक्षण
हाल देशभर २३३ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
पछिल्लो २४ घन्टामा १४,२०९ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्