
ललितपुर, असोज २१ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त हुनुभएको छ ।
यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा उहाँमा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।
असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहनुभएका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना हुनुभएको प्रमुखका स्वकीयसचिव इन्द्र बज्राचार्यले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो-‘आज दिउँसो ४ बजे मेयर सापको नतिजा ‘नेगेटिभ’ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।’
मंगलबारमात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त हुनुभएको थियो ।
केही वडाध्यक्ष संक्रमित
ललितपुर महानगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष हेम महर्जन, १२ का वडाध्यक्ष नारायणलाल अवाले र वडा नम्बर-१९ का वडाध्यक्ष विनोद ताम्राकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्वरो आउने र थकाइ लाग्ने भएपछि १८ गते स्वाब परीक्षण गराउँदा बुधबार कोरोना पोजिटिभको नतिजा आएको ८ नम्बरका वडाध्यक्षले बताउनुभयो ।
उहाँले भन्नुभयो-‘मेरी पत्नी ज्ञानमाया महर्जनमा पनि कोरोना पोजिटिभ देखिएर हामी दुवै ‘होम आइसोलेसन’मा बसेका छौं ।’
रुघाखोकी लागेर असोज १३ गते स्वाब परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएको १२ का वडाध्यक्षले बताउनुभयो ।
उहाँले भन्नुभयो-‘मेयर सापलाई कोरोना देखिनु केही दिनअघि हामी उहाँसँगै एक बैठक बसेका थियौं । उहाँमा कोरोना पोजिटिभ देखियो भनेर आफ्नोपनि परीक्षण गराउँदा नतिजा पोजिटिभ नै आयो ।’
ज्वरो आउने र खानाको स्वाद थाहा नपाउने भएपछि १६ गते स्वाब परीक्षण गराउँदा १८ गते कोरोना पुष्टि भएको वडा नम्बर-१९ का वडाध्यक्षको भनाइ छ ।
ललितपुर महानगरपालिकाका केही कार्यालय बन्द
असोज २० देखि २७ गतेसम्मका लागि ८ नम्बर वडा कार्यालय र १९ गतेदेखि एक हप्ताका लागि १९ नम्बार वडा कार्यालय पूर्णरुपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षले जानकारी गराउनुभयो ।
वडामा कोभिड संक्रमित बढेसँँगै बिहीबारदेखि २५ गतेसम्मलाई वडाका सम्पूर्ण सेवा बन्द गरिने भएको २० नम्बरका वडाध्यक्ष चन्द्रलाल महर्जनले बताउनुभयो ।
उहाँले भन्नुभयो-‘आउँदो आइतबारसम्म संक्रमितको संख्या नियाल्छौं र त्यसपछि पनि थप बढेको बढ्यै गरेमा स्वास्थ्य सावधानी अपनाएर वडामा पुनः सेवा दिन थाल्नेछौं ।’
अन्य केही वडाध्यक्ष पनि कोरोनाको सिकार भएका कारण आफूलगायत कर्मचारी यसबाट मुक्त रहन सकून् भनेर अर्काे सूचना प्रकाशन नभएसम्मका लागि वडा बन्द गरिएको महर्जनको भनाइ छ ।
अष्टमातृका र मानमानेश्वरीको खड्गजात्रामा विधिवत् पूजामात्र
पाटनमा मनाइने अष्टमातृका नाच र विशेष बडादसैंमा मनाइने मानमानेश्वरी भवानीको खड्गजात्रामा यस वर्ष विधिवत् पूजामात्र गरिने भएको छ ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बुधबार जारी गरेको सूचनामा ती पर्वमा भिडभाड हुनेगरी बाजागाजा बजाउने, जम्मा हुने काम नगरिने उल्लेख छ ।
धार्मिक परम्परानुसार गरिँदै आएको विधिवत् पूजालाई निरन्तरता दिइने र अन्य उत्सव नगर्ने निर्णय गुठी संस्थान शाखा कार्यालय ललितपुर, जात्रा र पर्वसँग सम्बन्धित सरोकार संस्था र स्थानीय गुठीयारसँग बैठक बसी गरिएको महर्जनले जारी गर्नुभएको पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्