
म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ ।
हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो ।
सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्क बिच्छेद भएको स्थानीय होमबहादुर रोकाले बताउनुभयो ।
बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानी हुँदै भकिम्ली जोड्ने १०० मिटर ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ ।
आवत जावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ती भएको छ ।
भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो । हाल चालू रहेको एउटा मात्रै थामडाडा–मरेक–छेपारे–मुसुङ–भकिम्ली सडकमा नियमित गाडी चल्दैन् ।
पहिले भकिम्लीबाट बेनी आउन तीस मिनेट समय लाग्थ्यो । सडक घुमाउरो भएकाले आवत जावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताउनुभयो ।
मरेकको सडकमा ढुवानीका लागि ट्याक्टर मात्र मुस्किलले चल्छ । पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताउनुभयो ।
घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयवासी यातायात सुबिधाबाट बञ्चित भएका छन् ।
हेलगौडाको पहिरोले भकिम्लीको समग्र विकासलाई अबरोध गरेको वडा अध्यक्ष पदम पुन बताउनुहुन्छ ।
भिरालो पाखोमा खनिएको सडकको भल व्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाइ छ ।
पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तीलाई समेत जोखिम बनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्