
काठमाडौं, असोज २२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आन्तरिक विवाद कायमै छ ।
गएको शनिबार विवाद समाधानका लागि छलफल भएपनि केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि संवाद नै अवरुद्ध भएको छ ।
यही असोज १९ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक असोज २५ गतेका लागि सारिएको छ । यसबीचमा विवाद समाधानका लागि संवाद गर्ने भनिएपनि कोरोनाका कारण रोकिएको छ ।
पार्टीका विभाग गठन र विस्तार, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृसंगठनको पदावधि, मनोनीत केन्द्रीय सदस्यलगायतका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाउँदै आउनुभएको छ ।
असोज १२ गते पौडेल पक्षले सभापति शेरबहादुर देउवाले विधानविपरीत निर्णय गरेको भन्दै केन्द्रीय कार्यालयमा १९ बुँदे विरोधपत्र बुझायो । पौडेल पक्षले १९ बुँदे विरोधपत्रको आधारमा समस्या समाधान गर्न सभापतिलाई दबाब दिँदै आएको छ ।
इतर पक्षको दबाबका बाबजुत् संस्थापन पक्ष भने आफ्नो पूर्वनिर्णयबाट पछि नहट्ने अडानमा छ ।
सभापति देउवाको निवास बूढानीलकण्ठमा असोज १४ गते बसेको पदाधिकारीलगायत नेताहरुको बैठकमा पौडेल पक्षका मागबारे छलफल भएको थियो ।
पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका मागबारे औपचारिक तथा अनौपचारिक छलफल गर्ने निर्णय गरेको थियो ।
संस्थापनइतर पक्षले बुझाएको विरोधपत्रबारे आगामी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने संस्थापन पक्षको तयारी छ ।
गत शनिबार पनि केन्द्रीय कार्यालय सानेपामा सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षका नेताहरुबीच विवाद समाधानका लागि बैठक बसेको थियो ।
उक्त बैठकमा सहमति जुट्न नसकेपछि भोलिपल्ट अर्थात् आइतबार पुनः बस्ने निर्णय गरेको थियो । तर, शनिबार साँझ नै केही सदस्यमा कोरोना संक्रमण देखिएपछि आइतबारको लागि तय गरिएको बैठक बस्न सकेन । त्यसयता विवाद समाधानका लागि कुनै संवाद हुनसकेको छैन ।
आगामी आइतबार बस्ने केन्द्रीय समिति बैठकअघि शीर्ष नेताहरुबीच पुनः छलफल हुने भनिएपनि निश्चित भने छैन ।
कोरोना महामारी र आन्तरिक विवादले फागुनमा तोकिएको १४औं महाधिवेशन समयमै नहुने निश्चित प्रायः देखिएको छ । यद्यपि, नेताहरु भने तोकिएकै समयमा महाधिवेशन हुने दाबी गर्न छोडेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्