
काठमाडौं, असोज २२ । नेपाल बक्सिङ संघले पूर्वबक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।
बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई रु ७५ हजार १०५ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो ।
लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिनाअघिदेखि प्यारालाइसिसबाट थलिनुभएको छ ।
पाँचपटकका राष्ट्रिय च्याम्पियन शर्माले वि.सं. २०३३ देखि बक्सिङ खेल्न सुरु गर्नुभएको थियो ।
उहाँले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउनुभएको थियो ।
अध्यक्ष अवालेले शर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मर्कामा परेका खेलाडीलाई अगामी दिनमा पनि सहयोग गर्न संघले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्