
काठमाडौं, असोज २२ । दक्षिण अमेरिकी देश भेनेजुएलाले अहिले चरम आर्थिक संकट व्यहोरिरहेको छ । दिन-प्रतिदिन अर्थ व्यवस्था खराब हुँदै गइरहेको छ ।
मुद्रा स्फीति उच्च छ । नागरिकले महँगीको चर्को मार खेप्नुपरेको छ । ब्याग, बोरामा टन्न नोट भनेर त्यहाँका मानिस सामान किन्न बजार जान्छन् । त्यति पैसाले थोरैमात्र दैनिक उपभोग्य वस्तु किनेर ल्याउँछन् ।
‘ब्लुमबर्ग’को रिपोर्टकाअनुसार पैसाको अत्यधिक अवमूल्यनका कारण भेनेजुएलाले अब ठूलो मूल्यअंकित नोट छपाइ गर्ने योजना बनाइरहेको छ ।
रिपोर्टकाअनुसार त्यहाँको केन्द्रीय बैंकले अब एक लाख बोलिभर (त्यहाँको मुद्रा)अंकित नोट छाप्ने तयारी गरिरहेको छ ।
त्यसका लागि इटालीको एक फर्मबाट यो वर्ष ७१ टन ‘सेक्युरिटी पेपर’ आयात गरिएको छ । उक्त फर्म इटालीको कम्पनी बेन क्यापिटलको स्वामित्वमा रहेको छ । जुन कम्पनीले विश्वका कतिपय देशमा सेक्युरिटी पेपर निर्यात गर्छ ।
भेनेजुएलाले एक लाख मूल्यअंकित नोट छपाइ गरेको खन्डमा त्यो सबैभन्दा बढी मूल्यअंकित नोट हुनेछ । तर, त्यतिबेला पनि त्यो रकम ०.२३ अमेरिकी डलर बराबरमात्र हुनेछ ।
त्यति रकमले त्यहाँ दुई किलो आलु वा आधा किलो चामलमात्र खरिद गर्न सकिन्छ । भेनेजुएलाको मुद्रा अहिले विश्वकै सबैभन्दा सस्तो मुद्रा हो ।
त्यहाँको सरकारले नागरिकलाई सहजता प्रदान गर्ने हेतुले ठूलो मूल्यअंकित नोट छाप्ने तयारी गरिरहेको हो । जसबाट सर्वसाधारणले धेरै संख्यामा नगद बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्ति पाउँछन् ।
कोरोनाभाइरस, ‘लकडाउन’सँगै तेलबाट प्राप्त हुने आम्दानी रित्तिएपछि भेनेजुएलाको अर्थतन्त्र लगातार सातौं वर्ष मन्दीमा छ । भ्रष्टाचारका कारण यो देशको अर्थ व्यवस्था झन्-झन् खराब हुँदै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्