
झापा । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ ।
दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।
गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उहाँको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
यससँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन र जिल्लामा १२ पुगेको छ । दमकमा एक महिला र दुई सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
राजविराज– सप्तरीमा कोरोना सङ्क्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थय कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए ।
सोही क्रममा एक दिन अगाडि स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण भटिएपछि होमआइसोलेसन रहेका उनको थप उपचारका लागि लगिने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनुभयो ।
होम आइसोलेसनमा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतक निमोनिया रोगले ग्रसित रहेको जनाइएको छ । यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।
यस्तै हालसम्म सप्तरीमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक हजार ९६ निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्