
काठमाडौं, असोज २३ । आज अक्टोबर ९ तारिख अर्थात् विश्व हुलाक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १४६औं विश्व हुलाक दिवस मनाईंदै छ ।
यस वर्ष ‘मोर देन मेल’ मुख्य नारासहित विश्वभर हुलाक दिवस मनाईंदै छ ।
काठमाडौंको चारखालस्थित गोश्वरा हुलाक कार्यालयमा पनि कार्यक्रम गरी यो दिवस मनाइएको छ ।
कार्यक्रममा हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रविधिको चुनौती र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउने र भाइचारा विकास गर्ने उद्देश्यले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो ।
नेपालले भने सन् १९५६ मा उक्त संघको सदस्यता लिएको थियो । सदस्यता लिएसँगै हरेक वर्ष नेपालमा पनि विश्व हुलाक दिवस मनाईंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्