
काठमाडौं, असोज २३ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत् डा. गोविन्द केसीमा हृदयाघातको जोखिम देखिएको छ ।
डा. केसीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक सुवासप्रसाद आचार्यले शुक्रबार स्वास्थ्य बुलेटिन जारी गर्दै उहाँको मुटुको चाल अनियमित रहेको, धड्कन असन्तुलित रहेकाले कुनैबेला मुटुको चाल रोकिएर हृदायाघात हुने जोखिम रहेको जानकारी दिनुभयो ।
उहाँले डा. केसीको इच्छाविपरीत कुनैपनि समयमा औषधि चलाउनुपर्ने अवस्था आउनसक्ने पनि बताउनुभएको छ ।
डा. केसीलाई छाती दुख्ने, थकान हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने समस्या भएको तथा उहाँको दायाँ छातीमा निमोनियाको लक्षण देखिएको डा. आचार्यद्वारा जारी स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ ।
केसीको रगतमा सेतो रगतको मात्रा अत्यन्तै कम भएको साथै रगतमा सुगरको मात्रा पनि कम भएको छ ।
यस्तै, रगतमा सोडियम, पोटासियम, क्याल्सियम र फोस्फोरस अत्यन्तै कम रहेका कारण इन्फेक्सन हुने जोखिम बढेको उल्लेख गरिएको छ ।
डा. केसीको शुक्रबारै छातीको सिटी स्क्यान र एक्सरे गरिएको छ । उहाँकोे रक्तचाप घटेर ९०/४०, कहिले ११०/६० हुने गरेको स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ ।
डा. केसीले छबुँदे माग राखेर गएको भदौ २९ गते जुम्लाको चन्दननाथ-६, रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९औं सत्याग्रह सुरु गर्नुभएको थियो । आठौं दिनमा काठमाडौं आउनुभएका उहाँले शिक्षण अस्पतालमा आफ्नो सत्याग्रह कायम राख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्